विष्णु तिमिल्सिना
नेपाल सरकारद्धारा संचालन गरिएको स्वास्थ्य विमा कार्यक्रममा १८ हजार १ सय ४२ परिवारका जम्मा ७६ हजार ६ सय ८४ जना व्यक्ति विमित भएका छन् । विमित जनसंख्या मध्ये ४१ हजार ६ सय ३३ जना महिला र ३५ हजार ३५ जना पुरुष रहेका छन् ।
बर्दिया जिल्लामा आर्थिक वर्ष ०७४÷०७५ को असोज महिना देखि विमा कार्यक्रम संचालन र मंसिर ०१ गते देखि विमितहरुका लागि सेवा शुरु भएको थियो । हाल सम्म १ करोड ६३ लाख ४७ हजार ९ सय ४० रुपैयाँ विमा वापत प्रिमियम संकलन गरिएको कुरा विमा दर्ता अधिकारी रुपेश आचार्यले जानकारी गराउनु भयो ।
नेपाल सरकारले निःशुल्क स्वास्थ्य विमा गरिदिने घोषणा २०७६ बैशाख ०१ गते घोषणा गरिए अनुरुप यस आर्थिक वर्षको भाद्र ०१ गते देखि लागु हुने गरी ७० वर्ष उमेर पुगेका बृद्धबृद्धा, एच.आई.भि एड्स संक्रमित, कुष्ठरोगी, रातो कार्ड प्राप्त गरेका असहाय अपाङ्ग र जटिल खालको क्षयरोगीका परिवारलाई सम्बन्धित व्यक्ति तथा परिवारको लागि फाराम भरि नामावली संकलन तथा दर्ता भईरहेको छ । उक्त संख्या करिब ८ हजार रहेको कुरा जिल्ला संयोजक रमेश आचार्यले बताउनु भयो । साथै यस आर्थिक वर्ष देखि विमा वापतको प्रिमियम रकम ५ जना सम्मको प्रति परिवार ३ हजार ५ सय रुपैयाँ र १ लाख सम्मको औषधि उपचार विमा सुविधा पाउने कुरा आचार्यले बताउनु भयो ।
बर्दिया जिल्लामा स्वास्थ्य विमा कार्यक्रम संचालन भएको २ वर्षको अवधिमा जनसंख्याको आधारमा स–शुल्क विमा गरिने को संख्या न्युन रहेको छ । सबै जनतालाई स्वास्थ्य विमा कार्यक्रममा आवद्ध गराउन नेपाल सरकारले स्वास्थ्य सेवालाई विश्वसनीय र प्रभावकारी गराउन आवश्यक रहेको देखिन्छ ।
गत आर्थिक वर्षमा ०७५÷०७६ मा बर्दिया जिल्ला अस्पताल बाट ५ हजार १ सय १९ जना स्वास्थ्य विमा बाट विमितहरुले सेवा प्राप्त गरेको कुरा सो अस्पतालका सुपरिटेण्ड डा.सुवास पाण्डेले बताउनु भयो । स्वास्थ्य विमा कार्यक्रम बाट गत आर्थिक वर्षमा जिल्ला अस्पताललाई कुल ४७ लाख ३६ हजार ६ सय ५१ रुपैयाँ प्राप्त भएको हो । उक्त रकम अस्पतालले दावी गरेको भन्दा कम रहेको डा.पाण्डेले बताउनु भयो । अस्पतालमा स्वास्थ्य विमा गरेका विरामीहरुले औषधि प्राप्त गरिसकेपछि त्यसको विल सामाजिक सुरक्षा एकाईमा बुझाउनु पर्नेमा नबुझाई नाम दर्ता फाँटमा रहेको आफ्नो विमा कार्ड समेत नलिई जाने गरेकाले अस्पतालले खर्चको दावी विमा कार्यक्रममा गर्न कठिनाई भएको छ, हाल अस्पतालमा २ सय ७८ वटा विमा कार्ड मौजुद रहेको कुरा सामाजिक सुरक्षा एकाईका हेमन्त चौधरीले जानकारी गराउनु भयो । बर्दिया जिल्ला अस्पतालमा विमा सदस्यहरु उपचारका लागि आउने क्रम बढिरहेको छ । दैनिक स्वास्थ्य परिक्षण गराउने मध्ये बहुसंख्यक स्वास्थ्य विमा गराएका व्यक्तिहरु रहेको र जनशक्तिको कमीको कारणले व्यवस्थित गर्न कठिनाई भएको कुरा डा.पाण्डेले बताउनु भयो ।
बर्दिया जिल्लामा जिल्ला अस्पताल अतिरित्त सोरहवा, मंगरागाडी र राजापुर प्राथमिक उपचार केन्द्रबाट पनि स्वास्थ्य विमाको सेवा संचालन रहेको छ । स्वास्थ्य विमा गराएका विमितहरुले उपचारको क्रममा सबै औषधि विमा कार्यक्रमबाट पाउन नसकेको गुनासो रहेको छ । स्वास्थ्य विमा कार्यक्रम व्यवस्थित र विश्वसनीय भएमा जनताले गुणस्तरिय स्वास्थ्य सेवा पाउनुका साथै निजि क्षेत्रबाट भएको आर्थिक शोषण तथा ठगीबाट बच्न सकिने छ ।
प्रतिक्रिया