रामपुर नगरपालिका–१० को शहरी स्वास्थ्य केन्द्रमा महिला बिरामीलाई सेवा लिन समस्या परेको छ । सेवा लिन पुगेका कतिपय महिलाभित्रै नपसी बाहिरबाटै फर्कने गरेको पाइएको छ ।
महिलासम्बन्धी विभिन्न समस्या लिएर स्वास्थ्य केन्द्रमा पुगेका बिरामी अझै पनि डर र लाजका कारण आफ्ना समस्या बताउन हिचकिचाउने गरेको पाइएको छ । कतिपय महिला स्वास्थ्यकर्मीलाई बाहिर बोलाएर मात्र आफ्ना समस्या बताउने गर्छन् भने कतिपय भित्र अन्य बिरामी तथा पुरुष स्वास्थ्यकर्मी देखेपछि उपचार नै नगराई अर्को दिन स्वास्थ्य केन्द्रमा पुग्ने गरेका छन् ।
गर्भवती, महिलासम्बन्धी विभिन्न रोगका बिरामी डर र लाजका कारण सेवा लिन हिचकिचाउने गरेको स्वास्थ्य केन्द्रका अनमी बिन्दु पाण्डेय अधिकारी बताउनुहुन्छ । “एक जना पुरुष स्वास्थ्यकर्मी हुनुहुन्छ, उहाँलाई बाहिर पठाएर मात्र जाँच गर्ने गरेका छौँ, गर्भवती तथा महिलासम्बन्धी विभिन्न समस्या भएका बिरामीले कोठा बाहिरै बोलाएर समस्या बताएर मात्र भित्र पस्ने गर्नुहुन्छ”, उहाँले भन्नुभयो ।
अन्य बिरामीको तुलनामा महिला बिरामीलाई कोठा अभावमा जाँच गर्न अप्ठ्यारो परेको उहाँ बताउनुहुन्छ । स्वास्थ्य केन्द्रमा महीनामा १० जनाको हाराहारीमा गर्भवतीले सेवा लिने गरेको पाइएको छ । कोठाको अभाव हँुदा सेवा लिनका लागि पालो पर्खेर बस्नु परेको गर्भवती महिला सविता भण्डारीको भनाइ छ । “घरबाट बल्लबल्ल समय निकालेर आयो, समयमै परीक्षण गर्न नपाउँदा समस्या भएको छ” उहाँले भन्नुभयो ।
“गर्भवती जाँच गराउन दुई–तीन घण्टा पालो पर्खनुपर्छ, सबैका अगाडि जाँच गर्न र आफ्ना समस्या बताउन अप्ठ्यारो हुन्छ”, भण्डारीले गुनासो गर्नुभयो । एउटै कोठामा सबै बिरामीलाई राखेर स्वास्थ्य परीक्षण गरिने हुँदा महिला आफ्ना समस्या बताउन लजाउने गर्छन् ।
अधिकांश महिलाले घरपरिवार, आफन्तको डर र लाजका कारणले खुलेर आफ्ना स्वास्थ्य समस्या बताउन नचाहेको पाइन्छ । स्थानीय आमा समूहको सानो भवनबाट सेवा दिन समस्या परेको शहरी स्वास्थ्य केन्द्रका प्रमुख जगन्नाथ भण्डारी बताउनुहुन्छ ।
प्रतिक्रिया