कर्णाली सरकारका मूख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशमा विकास माग्ने र खाने संस्कृति मौलाउँदै गएको बताएका छन् ।
नेपाल पत्रकार महासङ्घ जुम्लाद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री शाहीले त्यस्तो प्रबृत्ति अन्त्यका लागि सजग हुन सबैपक्षलाई आग्रह गरे ।
अब कर्णाली विकासका लागि डिजिटल अनिवार्य भएको भन्दै उनले सरकार डिजिटल नक्सा तयारीमा लागेको बताए ।
“अब विकासका लागि हामी ठूला योजनाहरुको विस्तृत परियोजना प्रतिवेदन तयार गर्छौं र तयार भएका योजनाहरुलाई कार्यान्वयनमा लैजान्छौँ”, उनले भने ।
मूख्यमन्त्री शाहीले प्रदेश सरकारले विकासका लागि पूर्वाधार क्षेत्रको परियोजना बैंक तयार गरेको जनाउँदै प्रदेशको समानुपातिक विकासका लागि २४ वटै निर्वाचन क्षेत्रमा समानुपातिक ढङ्गबाट बजेट विनियोजन गरेको बताए ।
कर्णालीलाई कृषि पर्यटनका रुपमा विकास गर्न जमीनको व्यवस्थीकरण गर्ने उनको भनाइ थियो ।
यसका लागि मध्यपश्चिम विश्वविद्यालयले प्राङ्गारिक पाठ्यक्रम तयार गरिरहेको शाहीले जानकारी दिए ।
सुर्खेत–हिल्सा सडक निर्माणमा सरकारले प्रधानता दिएको भन्दै उनले सङ्घीय सरकारले अधिकार नदिएकाले कर्णालीको अपेक्षित विकास हुन नसकेको बताए ।
प्रतिक्रिया