नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अब आर्थिक क्रान्तिबाट पनि त्यसरी नै विश्वलाई नेपालको परिचय गराउनुपर्ने बताएका छन् ।
नेपालले विश्वसामु राजनीतिक परिवर्तनबाट केही नयाँ पहिचान बनाएको उल्लेख गर्दै उनले अव आर्थिक क्रान्तिबाट परिचय गराउन बाँकी रहेको बताए ।
जनक्रान्ति, संविधानसभा हुँदै मानिसहरुले सामान्य र असम्भव ठानेका राजनीतिक परिवर्तन र शान्तिका, संविधान निर्माणका, लोकतान्त्रिक गणतन्त्रका मूलभुत मान्यतासहित अधिकार स्थापना गर्न सफलता पाएको उनको भनाइ छ ।
“तर यी सफलताको अन्तिम परिणाम आर्थिक समृद्धिमा गएर खोज्नुपर्छ ”, नेपाल ट्रेकिङ एशोसिएसन (टान)को ४१ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भने , “आर्थिक प्रगतिको नयाँ युगतिर डोर्याउन सकिएन भने राजनीतिक परिवर्तन दिगो हुन सक्दैन । त्यो चुनौती र परीक्षा तपाई हामी सबैका अगाडि छ ।”
उनले लाभका लागि मात्रै व्यवसाय नगरी सेवाभावले व्यवसाय गर्न व्यवसायीहरुलाई अपील गरे ।
नेपाल भित्रिने पर्यटकहरुसँग जोडिएको ट्रेकिङ क्षेत्रले विदेशीहरुसँग गर्ने व्यवहारले देशको परिचय दिने भएकोले सेवा र कर्मको भावनाले व्यवसाय गर्नुपर्नेमा उनको जोड थियो ।
नेपालको पर्यटन क्षेत्र नेपालको कहिल्यै नसकिने प्रचुर सम्भावना भएको क्षेत्र भएको पनि उनको भनाइ छ ।
“यसको विकास इमान्दारी र पारदर्शी तरिकाले गर्न सके नेपाल समृद्ध बनाउन यसले योगदान दिन सक्छ”, उनले भने, “मन्त्रीले धेरै प्रतिबद्धता राख्नु भएको छ । यस्ता कार्यक्रममा यति स्पष्ट र भरोसायोग्य तरिकाले प्रतिवद्धता राखेको पहिलोचोटी देखेको छु । यसअर्थमा तपाईहरुले आशा राख्ने अवस्था पैदा भएको छ ।”
नेपाल भ्रमण वर्षको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष प्रचण्डले नेपाललाई सधैं भ्रमण वर्षको रुपमा रहिराख्ने वातावारण बनाउन समेत अपील गरे ।
त्यसका लागि आवश्यक पर्ने वातावारण बनाउने राज्यका तर्फबाट गर्नुपर्ने धेरै कुरा बाँकी रहेको कुरामा ध्यानाकर्षण भएको उनको भनाइ छ ।
धेरै लामो मेहनत र संघर्षपछि देशमा नयाँ राजनीतिक परिस्थिति बनाएको उल्लेख गर्दै प्रचण्डले अब आर्थिक समृद्धिको नयाँ युगतिर लैजानुपर्नेमा जोड दिए । “आर्थिक लोकतन्त्रको युगतिर जानका लागि नीजि क्षेत्रलाई सहकार्य र विश्वासमा लिएर प्रोत्साहित लिएर राज्य अगाडि बढन सकेन भने समृद्धिको सपना सपनामात्रै हुन्छ”, उनले भने ।
प्रतिक्रिया