सहकारी संस्थाको ५२ करोड ठगी गरेको आरोपमा नेपालगञ्ज उपमहानगरपालिकाका दुई जना वडाअध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।
सहकारी वित्तीय विकास संस्था लिमिटेडको रकम अपचलन गरेको आरोपमा वडा नं १७ का अध्यक्ष अजयकुमार पाठक र वडा नं १८ का अध्यक्ष दीपकुमार बर्माविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
उनीहरु सहकारीको सञ्चालक समितिमा रहेका बेला ५२ करोड रकम अपचलन गरेको नेपालगञ्जका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।
“मुद्दाको अनुसन्धानका लागि उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी खोजिरहेका छौँ, तर उनीहरु सम्पर्कमा छैनन्”, उनले भने ।
पाठक उक्त सहकारी संस्थाको उपाध्यक्ष र बर्मा कार्यसमिति सदस्य तथा कर्जा लगानी उपसमितिमा रहेको बेला अपलचन गरेको आरोप छ ।
प्रहरीले पक्राउ पुर्जी जारी भएलगत्तै वडाध्यक्षद्वय पाठक र बर्मा भारततिर फरार भएको हुनसक्ने प्रहरीको आशङ्का छ ।
अपचलन मुद्दामा सहकारीका कर्मचारी रहेका वडाध्यक्ष बर्माका दाई मुख्य आरोपी अरुणकुमार बर्मासहित गङ्गाधर सुवेदी, गोपाल भण्डारी, स्थीरमणि बज्राचार्य, प्रकाश चौधरी र बलराम यादव पक्राउ परिसकेका छन् ।
सहकारीका अध्यक्ष हरदेवबक्स चौधरीलगायतका अरु सञ्चालक पनि फरार छन् ।
नेपालगन्जमा मूख्य कार्यालय भई खजुरा र बैजापुरमा समेत शाखा रहेको उक्त सहकारीमा ११ हजार ४०८ जना निक्षेपकर्ता रहेका छन् । सहकारी अहिले बन्द अवस्थामा रहेको छ ।
प्रतिक्रिया