कोरियाले काठमाडौंमा स्मार्टसिटी बनाइदिने, कहाँ कहाँ बन्दैछ ?

६ बर्ष अगाडि

दक्षिण कोरियाले काठमाडौं उपत्यकाका प्राचीन बस्ती पुनःनिर्माण र स्मार्टसिटीको विकासका लागि सहयोग गर्ने भएको छ ।   
    
कोरियाले उपत्यकाका साँखु, बुङ्मती र खोकनाको परम्परागत बस्तीको पुनःनिर्माण गर्न तथा सोसँग जोडिएका क्षेत्रहरुमा स्मार्टसिटी बनाउनका लागि सहयोग गर्न लागेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।     
     
पुनःनिर्माण तथा स्मार्टसिटी निर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, काठमाडौ उपत्यका विकास प्राधिकरण र सियोल हाउजिङ एण्ड कम्युनिटी करपोरेसनबीच कोरियाको सियोलमा सो सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।     

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उक्त समझदारी काठमाडौं उपत्यकाका प्राचीन बस्तीको संरक्षण गर्न तथा नयाँ शहरको विकासका लागि कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।      
     
सियोल हाउजिङ एण्ड कम्युनिटी करपोरेसनका प्रमुख कार्यकारी अधिकृत सी योङ कीमले शहरी क्षेत्रको पुनःनिर्माण तथा स्मार्टसिटीहरुको विकासका सन्दर्भमा कोरियाले प्राप्त गरेको ज्ञान तथा अनुभव नेपाललाई बाँड्न पाउँदा खुशी लागेको बताए ।      

     
सियोल हाउजिङ एण्ड कम्युनिटी करपोरेसन सियोल महानगरपालिकाअन्तर्गत सियोल क्षेत्रमा नयाँ शहरहरुको विकास गर्न तथा आवासहरुको निर्माणका लागि स्थापना गरिएको निकाय हो ।     
 

६ बर्ष अगाडि

प्रतिक्रिया