सल्यानमा घर जग्गामा महिलाको स्वामित्व क्रमशः बढ्दै गएको छ ।
सरकारले महिला, दलित र ज्येष्ठ नागरिकका नाममा घरजग्गा पास गर्दा राजश्वमा छुट दिन थालेपछि उनीहरुको स्वामित्व बढ्दै गएको हो ।
महिला, दलितलाई घरजग्गा रजिष्ट्रेशन पास गर्दा २५ देखि ३० प्रतिशतसम्म छुट दिने व्यवस्था छ । महिलाका नाममा घरजग्गाको स्वामित्व बढाउने उद्देश्यले सरकारले महिलाको नाममा स्वामित्व दर्ता गर्दा लाग्ने राजश्वमा ३० प्रतिशतसम्म छुट दिँदै आइरहेको छ ।
जिल्लामा महिलाका नाममा रजिष्ट्रेशन पास गर्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको मालपोत कार्यालय सल्यानले जनाएको छ । राजश्व छुट पाउने भएपछि वर्षेनी २० देखि ३० प्रतिशतसम्मले महिलाको नाममा घरजग्गाको स्वामित्व दर्तामा वृद्धि भएको कार्यालयका खरिदार दीपक बुढाथोकीले बताए । उनका अनुसार गत आर्थिक वर्ष २०७५÷७६ मा एक हजार ४०० महिलाका नाममा घरजग्गा दर्ता भएको छ ।
ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रका महिलाको नाममा घरजग्गा दर्ता हुने क्रम बढी देखिएको छ । गत आर्थिक वर्षमा शहरी क्षेत्रका ८०० र ग्रामीण क्षेत्रका ६०० गरी कूल एक हजार ४०० महिलाको नाममा घरजग्गा दर्ता हुँदा रु २७ लाख २७ हजार ८६८ छुट दिइएको बुढाथोकीले जानकारी दिए ।
घरजग्गाको स्वामित्व लिने दलित महिलामा पनि शहरी क्षेत्रमा बढी छन् । शहरी क्षेत्रमा ३३२ र ग्रामीण क्षेत्रमा १६९ दलित महिलाले घरजग्गाको स्वामित्व लिएका छन् । सल्यानमा महिला, दलित, अपाङ्ग गरी एक हजार ९०२ ले घरजग्गा रजिष्ट्रेशन पास गराएका छन् । जसबाट रु ३२ लाख ३० हजार ४२९ छुट पाएकोे मालपोत कार्यालय सल्यानले जनाएको छ ।
प्रतिक्रिया