यो वर्ष नेपालका वाणिज्य बैंकहरुमध्ये एनआइसी एसियाले सबैभन्दा पहिला साधारण सभा बोलाएको छ ।
बैंकले असोज १० गते बार्षिक साधारण सभा बोलाएको हो । आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ९ बजे सुरु हुने साधारण सभामा बैंकले २१ दशमलव ०५२६ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव पेश गर्दैछ । बैंकले गत वर्षको नाफाबाट ११ दशमलव ०५२६प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर गरी कुल २१ दशमलव ०५२६ प्रतिशत लाभांश दिन लागेको हो ।
साधारण सभामा कुनै वित्तीय संस्था गाभ्न परेमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन, लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डामा छलफल हुने छ । आर्थिक वर्ष २०७५–७६ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा पनि छलफल हुने बैंकले जनाएको छ ।
चुक्ता पुँजी ८ अर्ब ८३ करोड ४२ लाख २८ हजार रुपैयाँ रहेको बैंकको बोनस वितरणपछि पुँजी ९ अर्ब ७१ करोड ७६ लाख ५० हजार रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षमा एनआइसीले ३ अर्ब ५ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ५६ पैसा रहेको छ ।
प्रतिक्रिया