गुल्मीमा विद्यालय र नगरपालिका विवाद, रेसुङ्गा नगर प्रमुखको कार्यकक्षमा सदस्यकाे ताला

६ बर्ष अगाडि

सरकरी विद्यालयका प्रधानाध्यापकको नियुक्तिमा हस्तक्षेप गरेको भन्दै गुल्मीको रेसुङ्गा नगरपालिकामा नगरकार्यपालिका सदस्यले तालाबन्दी गरेका छन् । 

सदरमुकामको महेन्द्र नमूना माध्यमिक विद्यालयमा व्यवस्थापन समितिले नियुक्त गरेको  प्रधानाध्यापकलाई काम गर्न रोकेको भन्दै कार्यपालिका सदस्यहरुले नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा आज तालाबन्दी गरेका हुन् ।    

नगरकार्यपालिका बैठकको निर्णयविना आफूखुशी काम गरेको कार्यपालिका सदस्यहरुको आरोप छ ।  

केही दिनअघि व्यवस्थापन समितिले नियुक्त गरेका प्रधानाध्यापकको नियुक्ति प्रकृया कार्यविधिअनुसार नभएको भन्दै नगरपालिकाले साविककै प्रधानाध्यापकबाट काम गराउन विद्यालयलाई पत्र काटेको थियो ।  

प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीको योजनाअनुसार नगरप्रमुख डिल्लीराज भुसालले सिङ्गो कार्यपालिकालाई बेवास्ता गरी आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर विधि र कानूनविपरीत विद्यालयमाथि ठाडो हस्तक्षेप गरेको वडा नं १ का वडाअध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेले आरोप लगाए । 

नगरपालिका प्रमुख भुसालले भने विद्यालय व्यवस्थापन समितिले गरेको निर्णय नियमसङ्गत नभएका कारण पुनःप्रक्रिया अघि बढाउन परिपत्र गरेको बताए । 

“हरेक स–साना कुरामा पनि कार्यपालिकाको बैठक बोलाउनुपर्छ भन्ने छैन, केही सामान्य कुरामा नगर प्रमुखको हैसियतले पनि काम गर्न सकिन्छ, मैले नियमसङ्गत नै काम गरेको छु”, नगर प्रमुख भुसालले भने ।

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष चुडामणि पन्थीले समितिले विधि र प्रक्रियापूर्वक गरेको काममा नगरपालिकाले ठाडो हस्तक्षेप गरेको भन्दै त्यो आफ्ना लागि स्वीकार्य नभएको बताए । “प्रअ राख्ने अधिकार विद्यालय व्यवस्थापन समितिको हो, यसमा नगरपालिकाले हस्तक्षेप गर्नै पर्ने विषय पनि छैन”, पन्थीले भने । 

महेन्द्र नमूना माध्यमिक विद्यालयमा साविकका प्रधानाध्यापक केशरबहादुर थापाको ठाउँमा हाल विद्यालय व्यवस्थापन समितिले सोही विद्यालयका शिक्षक युवराज ज्ञवालीलाई नियुक्ति दिएको थियो ।     
 

६ बर्ष अगाडि

प्रतिक्रिया