गाउँमै वार्षिक २५ लाख कमाउने किसान भन्छन् : ३ करोडसम्म कमाउँछु

६ बर्ष अगाडि

काभ्रेपलाञ्चोकको नमोबुद्धमा एक किसानले गाउँमै वार्षिक २५ लाख कमाउन सकिने उदाहरणीय काम गरेका छन् ।  

बनेपा नगरपालिका–३ घर भइ नमोबुद्ध नगरपालिका–४ मा जबदीबेँसीमा  ड्रागन फ्रुट खेती गरेका भेषमान श्रेष्ठले वार्षिक रु २५ लाख आम्दानी गरेका हुन् । 

श्रेष्ठले चार वर्ष अगाडि १७ रोपनी जग्गामा लगाएको सो ड्रागन फ्रुट लागाएका थिए । गतवर्षदेखि त्यसबाट आम्दानी शुरु भएको र शुरुमै ५ लाख कमाएको उनले बताए । 

यस वर्ष रु २५ लाखसम्मको बिक्री गरिसकेको उनको भनाई छ । “२०७२ भदौबाट खेती शुरु गरेको तीन वर्षपछि फल दिन थाल्यो”, उनले भने “शुरुकै वर्ष पाँच लाख र अहिले झण्डै रु २५ लाखको बेचिसकेको छु ।” 

असारबाट फल्न शुरु गरेको सो फल मङ्सिरसम्म निरन्तर फल्ने उनको भनाइ छ ।

यस वर्ष वर्षाका कारण समस्या भएर कम फलेको भएपनि अब झन् फल लाग्ने समय बढ्दै गएकाले वार्षिक रु एक करोडसम्मको आम्दानी लिन सकिने उनले बताए । उनका अनुसार यो वर्ष १५ देखि २० हजार किलोसम्म फल्ने संभावना भएपनि वर्षाका कारण बिग्रेरे कम फल लागेको थियो । 

उनले विरुवा पनि थपेका छन् । “केही वर्षपछि लगाएको बोटबाट वार्षिक रु तीन करोडसम्मको आम्दानी लिने लक्ष्य छ, अब समय र मौसमले कतिको साथ दिन्छ, हेरौँ ”, उनले भने । 

‘काँशीखण्ड ड्रागन एग्रिकल्चर फार्म’ दर्ता गरी शुरु गरेको सो खेतीमा जग्गासहित अहिलेसम्ममा करीब रु दुई करोड ५० लाख लगानी भएको छ । उनले शुरुमै १८ रोपनी जग्गा किनेका थिए । 

गर्मी ठाउँमा खेती हुने ड्रागन फ्रुट अरु फलभन्दा भिन्न गर्मी र जाडो समय दुवैमा खान मिल्ने फल हो । झन्डै १३ थरिको पोषणतत्व पाइने सो फल जसले खाँदा पनि हुने किसान श्रेष्ठ बताउँछन् । कोलस्ट्रोल र क्यान्सरका लागि धेरै फाइदाजनक फल रहेको सो फल एउटाको रु ३०० देखि ५०० सम्म पर्ने उनको भनाइ छ ।  

सहकारी संस्थाले रु ४० लाख जति ऋण र बिरुवासमेत उपलब्ध गराएपछि आफूले सो खेती शुरु गरेको व्यवसायी श्रेष्ठले बताए । उनको फार्ममा अहिले ९०० पिलरमा करीब तीन हजार बिरुवा रहेका छन् । 

पहिला कलाकारिता क्षेत्रमा रहेका उनले कामको सिलसिलामा मलेशियामा पुग्दा खाएको मिठो स्वादको फल फाइदाजनक रहेको भन्ने थाहा पाएपछि नेपाल फर्केर खेती थालनी गरेको बताउँछन् । 

यसअघि उनले डेरी व्यवसायमा काम गरेका थिए । “धेरै मेहेनत गरेर खेतीमा लागेको कारण अब मेरो यसैमा लगानी हुनेछ”, उनले भने, “मेरो मेहेनत र उत्पादन देखेर नगरपालिका पनि प्रभावित भएको छ, नगरपालिकाबाट जग्गा उपलब्ध गराइदिए म १००–२०० सय रोपनीसम्मको जग्गामा पनि खेती गर्नसक्छु ।” अनुगमनका क्रममा नगरपालिकाबाट पनि सहयोग गर्ने आश्वासन पाएको उनले बताए । 

नमूनाका रुपमा खेती गर्दै आएको भए पनि सरकारी तथा अन्य निकायबाट कुनै सहयोग र अनुदानसमेत नपाएको उनको भनाइ छ । अहिलेसम्ममा उनको फार्ममा पूर्वमन्त्रीदेखि वर्तमान सांसद र स्थानीय सरकार प्रमुखका साथै किसानले समेत अवलोकन गरिसकेका छन् ।

“लगानी धेरै भए पनि खेती गरेपछि राम्रो फल्यो, धेरै खुशी छु, पहिलोपटकको लगानी भएकाले पनि बढी नै लगानी भयो, तर अब फल्न शुरु गरेकाले अब यसपालि अलि–अलि भए पनि ऋण तिर्न सजिलो भयो”, उनले भने, “नेपालमै पहिलोपटक व्यावसायिक खेती गरेकाले पनि बजारको लागि कुनै समस्या छैन ।” 

उत्पादित फल सिङ्गापुर पठाएका छन् । त्यससँगै काठमाडौंको बानेश्वर र महाराजगञ्जमा पनि केही फलफूल पसलहरुले माग गरेकाले यसपालि त्यहाँ पनि बिक्री गर्दै आएको श्रेष्ठले बताए । 

केही व्यक्तिले अलिअलि खेती शुरु गरे पनि यसरी व्यावसायिकरूपमा खेती गरेको नेपालको नै आफू पहिलो किसान भएको उनको दावी छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया