गुल्मी जिल्ला अदालतले कार्यालय सहयोगी विश्वम्भर यादवलाई विनाकारण जागिरबाट निकालेको छ ।
विरामी भएर उपचार गर्न काठमाडौं गएका यादवलाई उपचार गरेर फर्कँदा जागिरबाट निकालिएको हो ।
कपिलवस्तु घर भएका यादव २०७२ सालदेखि जिल्ला अदालत गुल्मीमा कार्यालय सहयोगी र न्यायधीशको भान्छेको रुपमा कार्यरत थिए ।
करारका जागिरे उनको गत साउनमा मात्र ६ महिनाका लागि करार सम्झौता भएको थियो ।
ज्वरो र रुघाखोकी लागेपछि श्रेस्तेदार कृष्णशरण लामिछानेको अनुमतिमा उपचारका लागि काठमाडौं गएका यादवलाई कार्यालयमा फर्केपछि जागिरमा नआउनू भनिएको थियो ।
यादवका अनुसार उपचार गरेर फर्केपछि जिल्ला न्यायधिश कृष्ण प्रसाद पौडेलले विरामी भएकोले काम गर्न सक्दैनौ कि भनेर सोधेका थिए ।
तर यादवले ठूलो बिरामी होइन काम गर्न सक्छु भनेपछि एकपटक श्रेस्तेदारसँग सल्लाह गर्नू भनेर पठाएका थिए ।
श्रेस्तेदार लामिछानेले 'न्यायधीले नबोलाउनू भन्नुभएको छ' भन्ने कुरा सुनाएपछि आफू घर फर्केको यादवले बताएका छन् ।
जिल्ला न्यायधिश पौडेल भर्खरै सरुवा भएर गुल्मी आएका हुन् ।
आफू नयाँ न्यायधिश आएपछि एकदिन मात्र सँगै रहेको भएपनि के कमजोरीले निकालियो भन्ने कुरा जानकारी नभएको यादवको भनाइ छ ।
एसएलसी उत्तिर्ण यादव मलेसिया बैदेशिक राेजगारीका रूपमा काम गरेर फर्केका व्यक्ति हुन् ।
परिवार पाल्न समस्या भएपछि गुल्मी जिल्ला अदालतमा कार्यालय सहयोगीको रुपमा कार्यरत थिए ।
आफूले निश्चित समयमात्र नभनेर दिनभर कार्यालय सहयोगी र बिहान बेलुका भान्छेको काम गरेपनि के कारणले आफूलाई निकालियो भन्ने कुरा भने थाहा नभएको बताए ।
यसबारे बुझ्न खोज्दा अदालतका सूचना अधिकारी समेत रहेका श्रेस्तेदार लामिछानेले फोन उठाएनन् ।
प्रतिक्रिया