सरकारले सिंहदरबारको दक्षिण गेट नजिक बनेको अग्लो घर ‘इमिरो प्लाजा’ अधिग्रहण गर्ने भएको छ ।
आज गृह मन्त्रालयमा बसेको बैठकले उक्त भवनका कारण शान्ति सुरक्षामा पार्ने असर पर्ने भन्दै अग्लो घर अधिग्रहण गर्ने निर्णय गरेको हो ।
यसअघि ‘महत्वपूर्ण केन्द्र वरिपरि रहेका अग्ला भवनले शान्ति सुरक्षामा पार्ने असर अध्ययनका लागि गठित समिति’ले उक्त भवन अधिग्रहण गर्न सिफारिस गरेको थियो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको नेतृत्वमा रहेको अध्ययन टोलीमा जसमा पुरातत्व विभाग, शहरी विकास कार्यालय, काठमाडौं महानगरपालिका र सुरक्षा निकायका प्रतिनिधि थिए ।
आज गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृह सचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपाने, काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारी लगायतको उपस्थितिमा बसेको वैठकले अध्ययन समितिको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले अध्ययन समितिले तयार पारेको प्रतिवेदन गृह मन्त्रालयमा बुझाइएको र प्रतिवेदनको आधारमा कारबाही अघि बढाउने निर्णय भएको बताए ।
अध्ययन समितिले समितिले राष्ट्रपति कार्यालय अगाडि बन्दै गरेको सीअई रियल स्टेटलाई पनि निर्माणमा रोक लगाउने सिफारिस गरेको थियो ।
प्रतिक्रिया