बैंकिङ सिस्टम ह्याक गरी नक्कली भिसा कार्डबाट रकम निकालेको भेटिएपछि राष्ट्र बैङ्कले बैङ्कर्सहरुलाई आकस्मिक बैठकमा बोलाएको छ ।
राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीका अनुसार बैठक अबको दुई घण्टापछि बस्दै छ ।
महानगरीय प्रहरी परिसर काठमाडौका प्रमुख उत्तमराज सुवेदीले राष्ट्र बैङ्कले दिएको जानकारीका अनुसार दुई वटा बैङ्कबाहेक अन्य सबै बैङ्कका एटीएममा समस्या आएको बताए ।
प्रारम्भिक अनुसन्धानमा ६ वटा बैंकबाट पैसा झिकिएको फेला परेको छ। यसमध्ये २ वटा बैंकको प्रणाली नै ह्याक गरिएको छ।
चिनियाँ ह्याकरहरुले बैंकिङ सिस्टम ह्याक गरी नक्कली एटीएम कार्डबाट पैसा निकालेको थाहा पाएपछि सो बारे बुझ्न बैठक डाकेको राष्ट्रबैंकले जनाएको छ ।
बिहानमात्र राष्ट्र बैंकको आकस्मिक बैठक बसेको थियो ।
केही बैंकहरुले प्रयोगमा ल्याएको नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) को प्रणालीलाई चिनियाँ गिरोहले ह्याक गरेको छ।
११ बैंकको लगानी रहेकाे यो प्रणालीमा १७ वटा बैंकहरु आवद्ध छन्।
यसले भिसा कार्ड, युनियन पे कार्ड तथा माष्टरकार्ड जारी गर्नुको साथै एटिएम र पस मेसिन सञ्जालको होस्टिङ्ग र स्विचिङ्गको सेवा दिँदै आएको छ।
यता, बैङ्कहरुले भने ह्याक प्रकरणले भन्दा पनि गेट वे सर्भरमा समस्या आएपछि एक दिन अर्थात् २४ घण्टाका लागि सम्पूर्ण एटीएम डाउन हुन सक्ने बताएका छन् ।
घटना कसरी पत्ता लाग्याे ?
शनिवार नबिल बैंकका विभिन्न एटिएम बुथहरुबाट ठूलो मात्रामा नगद झिकिएको थियो।
ठूलो मात्रामा पैसा झिकिएपछि कर्मचारीहरुले के भएको रहेछ भनेर सिस्टमबाट त्यसलाई ट्र्याक गर्न थाले।
उनीहरुले अस्वभाविक रुपमा पैसा झिकिएको र केही शंकास्पद गतिविधि भएको थाहापाएपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले शनिवार साँझ चार जना चिनियाँ नागरिकलाई पाँच करोड रुपैयाँ नगदसहित पक्राउ गरेको छ। अझै केही फरार छन्।
बैंकरका अनुसार, कति रकम लुटिएको भन्ने अझै टुङ्गो लागिसकेको छैन। सबै बैंकबाट तथ्याङ्क माग गरिएको छ।
प्रतिक्रिया