नेपाली चेली ‘दुलही’ बन्दै चीनमा बेचिँदै

६ बर्ष अगाडि

काठमाडौँ। नेपाली चेली छिमेकी मुलुक चीनमा ‘दुलही’ का नाममा १० लाख रुपियाँसम्म बिक्री हुने गरेको पाइएको छ । दुलही बनाएर युवती ओसारपसार गर्न सुरक्षित र सजिलो हुने भएकाले मानव तस्करहरूले यस्तो नयाँ शैली अपनाएका हुन् । 
नेपाल प्रहरीको मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ब्युरोले ‘दुलही’ बनाएर चीन लगिएका अधिकांश युवतीलाई देह व्यापारमा लगाउने गरेको दाबी गरेको छ । सो अपराधमा संलग्न रहेको अभियोगमा छ जना नेपाली र चार जना चिनियाँ नागरिक गरी १० जना पक्राउ परेका छन् । 
ब्युरो प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक गोविन्द थपलियाले विवाहको प्रलोभन देखाइ मानव तस्करी हुने गरेको विशेष सूचनाका आधारमा विभिन्न स्थानमा छापा मारी नेपाल–चीन मानव तस्करीको एउटा सञ्जाल पक्राउ गरिएको बताउनुभयो । 
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक हेलम्बुकी विविरानी भन्ने रिना तामाङ, नुवाकोट ककनीका रोज तामाङ, लमजुङ बेँसीसहरकी पार्वती गुरुङ, लमजुङकै अमृता गुरुङ, भरत तामाङ र उषाकुमारी घिमिरे छन् । 
त्यस्तै चिनियाँ नागरिक झिङ साङ दोङ, झाङ दोङ हुँ, क्वुङ झाङ पेङ र क्विन लियाङ रहेका छन् । चीनको हुवीका स्थायी बासिन्दा झिङ र झाङ काठमाडौँमा नै बसेर चीनबाट विवाह गर्न युवा बोलाउने दलाल रहेको जानकारी ब्युरो प्रहरीले दिएको छ । अभियुक्त क्युङ र क्विन विवाह गर्न भनेर केही दिनअघि नेपाल आएका हुन् । 
नेपाली महिला रिना भाषा अनुवादक तथा दलाल, रोज कागजपत्र बनाउन सहयोगी, पार्वती, अमृता, भरत र उषा ग्रामीण क्षेत्रबाट युवती फकाइफुलाई काठमाडौँसम्म ल्याउने कार्यमा संलग्न रहेको जानकारी ब्युरो प्रहरीले दिएको छ । 
सो समूहको कब्जामा रहेका चार जना पीडित युवतीको उद्धार गरिएको छ । ब्युरो प्रवक्ता थपलियाका अनुसार विवाह गराइदिएबापत चिनियाँले प्रतिव्यक्ति १० लाख रुपियाँ दिने 
जनाइएको छ । पक्राउ अभियुक्तहरूको साथबाट २१ लाख ९७ हजार रुपियाँ, ३८ हजार भारु, तीन हजार ३०० युआन, २०० अमेरिकी डलर बरामद भएको छ । दुलही बनाएर गरिने अन्तर्राष्ट्रिय मानव तस्करीको यो नयाँ शैलीलाई ‘व्रिड्स वाइङ’ भन्ने गरिन्छ । गाेरखापत्र दैनिकमा खबर छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया