विदेश भ्रमण जान मन्त्रालयमा ‘झुटो पत्र’

६ बर्ष अगाडि

आफू विदेश जान राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निमित्त कार्यकारी निर्देशक दीपक खनालले तालुक अड्डा कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयलाई झुटो पत्र पठाएका छन् । 

२३ देखि २७ सेप्टेम्बरसम्म बेलायतको लण्डनमा हुने अन्तराष्ट्रिय  कफी संघ (आईसीओ) को १२५ औँ सभामा भाग लिन जानका लागि उनले बोर्डमा निर्णय नै नगरी मन्त्रालयमा पत्र पठाएका हुन् । नेपाल उक्त संघको सदस्य राष्ट्र हो । 

उनले उक्त बैठकमा नेपालको कफी सम्बन्धी नीतिगत छलफल हुने र त्यसमा सहभागी हुनका लागि मन्त्रालयबाट एकजना प्रतिनिधि सिफारिस गर्न अनुरोध गरेका छन् ।  दैनिक भ्रमणा भत्ता र आतेजाते खर्च बोर्डले व्यहोर्ने पत्रमा उल्लेख छ ।  
 
सोही पत्रको आधारमा मन्त्रालयले बाली संरक्षण अधिकृत सुरेन्द्र सुवेदीलाई बैठकमा सहभागी हुनको लागि छनौट गरेको छ । 

बोर्डबाट निर्णय नै नगरी खनाल आफू र सुवेदी सहभागी हुने गरी भिसा प्रकृया अगाडि बढाएको मन्त्रालय स्रोतले जनाएको छ । 

सरकारी निर्णय गर्दा तीन तहको प्रकृया पूरा गर्नुपर्छ । तर उनले तीन तहको टिप्पणी र सिफारिस प्रकृया पूरा गरेका छैनन् । तर खनालले भने प्रकृया पूरा गरेको दावी गरे । “सामान्यतया तीन तहको निर्णय प्रकृया पूरा गर्नुपर्ने हो, हामीले गरेका छौँ”, उनले भने ।

केही समय पहिला बसेको बोर्डको बैठकमा उनले आफू र एकजना अधिकृत उक्त कार्यक्रममा सहभागी हुने प्रस्ताव राखेपनि विवादका कारण निर्णय हुन सकेको थिएन । 

त्यसपछि उनले प्रशासन शाखामा सो विषयमा टिप्पणी उठाउन निर्देशन दिएका थिए । 

तीन तहको निर्णय प्रकृया पूरा गर्न प्रशासनले उठाएको टिप्पणीमा माथिल्लो तहले राय राख्नुपर्ने हुन्छ । तर उनले त्यो प्रकृया पूरा नगरी सिधै आफूले सदर गरेर निर्णय भएको भन्दै मन्त्रीलाई पत्र पठाएका छन् । 

पत्रमा मन्त्रालयका अधिकारीको खर्च पनि बोर्डले ब्यहोर्ने भनेर लेखेपछि चिया तथा कफी विकासका लागि आएको बजेटबाट विदेश भ्रमणमा जान र मन्त्रालयलाई खुसी पार्न झुटा चिठी पठाएको भन्दै बोर्डमै उनको चर्को बिरोध भएको छ ।

उनीहरु दुई जनाले भिसा प्रकृया शुरु गरेपनि यसपटकको बैठकमा बोर्डको विवादका कारण निर्णय हुन ढिलाई हुँदा नेपालबाट सहभागी हुन जाने सम्भावना कम रहेको छ । ढिलाई भएको कुरा खनालले पनि स्वीकारेका छन् । “हामी बोर्डमा निर्णय प्रकृयामा ढिलाई हुँदा प्रकृया ढिलो भयो, समय अभावका कारणले गर्दा हामी जान भ्याउँदैनौं कि भन्ने अवस्था छ”, उनले भने ।  

नेपालबाट कोही जान नसक्ने अवस्था रहेमा बेलायतस्थीत नेपाली राजदुत उक्त बैठकमा सहभागी हुने उनको भनाइ छ ।“हाम्रो   
‘मार्केट डेभलपमेण्ट एण्ड कफि प्रमोसन’ भन्ने ‘सव कमिटि’को ‘चेयर’ राजदुतले गर्नुभएको छ”, उनले भने, “हामी जान सक्ने अवस्था भएन भने उहाँले नै बैठकमा प्रतिनिधित्व गर्नुहुने छ ।”  

निमित्त कार्यकारी प्रमुख खनाल ६ महीना अघिमात्रै दिक्षिण अफ्रिकाको केन्यामा भएको आईसीओको बैठकमा सहभागी भएका थिए । त्यसभन्दा अगाडि अष्ट्रेलिया लगायतका देशहरुमा पनि उनी सहभागी भएका थिए ।  
राष्ट्रिय चिया तथा कफी विकास बोर्ड विदेश भ्रमण गरेर राज्यको रकम दुरुपयोग गर्ने काम मात्र गरेको त्यहाँका कर्मचारीहरु बताउँछन् । 

निवर्तमान कार्यकारी निर्देशक शेषकान्त गौतमले कार्यकालभरी सबैभन्दा धेरै विदेश र जिल्ला भ्रमण गरेको भन्दै आलोचना भएको थियो । 

उनी आफ्नो कार्यकालमा दुईसय भन्दा धेरै दिनको जिल्ला भ्रमणको भत्ता खाएका थिए । “उहाँले जिलामा अनुगमन गरेको कुनै पनि प्रतिवेदन पेश गर्नुभएको छैन” स्रोत भन्छ “त्यसैले उहाँ जिल्ला अनुगमन जानुभएको होइन, गृहजिल्ला जाने र अन्य जिल्लाको अनुगमन भनेर भत्ता खाने गर्नुभएको हो भन्ने पुष्टि हुन्छ ।” 

गौतमले आफू मात्र होइन मन्त्रालय र राजनीतिक पहुँचका धेरै व्यक्तिलाई विदेश भ्रमण गराउने गरेको भन्दै मन्त्रालय र अन्य निकायमा उजुरी परेको छ । 

उनको कार्यकाल सकिएपछि निमित्त कार्यकारी खनालले पनि उनकै पदचाप पछ्याएको बोर्डका कर्मचारीहरुको आरोप छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया