मध्यपहाडी (पुष्पलाल) लोकमार्गको बागलुङ–बुर्तिबाङ एक महीनासम्म दैनिक आठ घण्टा बन्द गरिने भएको छ ।
सडक विस्तार अन्तर्गत बागलुङ नगरपालिका–३ खहरे क्षेत्रमा रहेको चट्टानसहितको पहरो कटानका लागि सडक बन्द गरिने भएको हो ।
जिल्ला प्रशासन कार्यालय बागलुङमा बुधबार बसेको सरोकारवालाहरुको बैठकले झण्डै एक महीना खहरे खण्डको बाटो बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताए ।
भदौ १८ देखि असोज १७ गतेसम्म बिहान ७ः३० देखि ९ः३० सम्म र पुनः १०ः३० देखि अपराह्न ४ः३० सम्म बाटो बन्द गरिने प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताए ।
सडक बन्दका क्रममा बागलुङको अक्षेतेदेखि पाला, मुलपानी हुँदै बागलुङ बजार आउने वैकल्पिकमार्ग प्रयोग गर्न सकिनेछ । सिकिस्त बिरामीका हकमा लोकमार्ग आयोजनाले सडक खुलाएर गन्तव्यतर्फ जाने व्यवस्था गर्नेछ ।
बागलुङ बजारदेखि घोडाबाँधेसम्म २५ किलोमिटर सडक अहिले विस्तारकै चरणमा छ । बागलुङ बजारदेखि घोडाबाँधेसम्म दुई निर्माण कम्पनीले जिम्मा लिएर काम गरिरहेको भए पनि केही महीना काम रोकिएको थियो ।
खहरे खण्डसम्म सिद्धि शाही÷प्रकाश जेभी र बिहुँ खण्डको सडक निर्माण गर्ने जिम्मा लिएको एपी-इलाइट-सूर्य कन्स्ट्रक्शन जेभीले सडक निर्माणको कामलाई तीव्रता दिने बताएका छन् । २५ मिटर फराकिलो हुने यस सडकमा कालोपत्र भने आठ मिटरको मात्रै गरिने निर्माण कम्पनीले जानकारी दिएकाे छ ।
सडकखण्डमा जाली लगाउने, नाली बनाउने, ग्राभेल गर्नेलगायतका काम सम्पन्न भएको भए पनि बीच–बीचमा चट्टान कटान गर्नुपर्नेछ ।
सडकमा सवारीसाधन सञ्चालन भइरहँदा काम गर्न कठिनाइ र दुर्घटनाको जोखिमसमेत भएकाले तीव्रगतिमा काम सक्नका निम्ति पनि सवारी आवागमनलाई बन्द गर्नुपरेको मध्यपहाडी लोकमार्गका प्रमुख आशिष थापामगरले बताए ।
प्रतिक्रिया