ल्वाङ पनि नलिने सिधाकुराका पत्रकारलाई कार उपहार

६ बर्ष अगाडि

टेलिभिजन कार्यक्रम ‘सिधाकुरा जनतासंग’ का उत्पादक दीपक बोहोरालाई एकजना व्यवसायीले कार उपहार दिएका छन् । 

जापानमा बस्ने नेपाली नागरिक डिपी अर्याल नाम गरेका व्यक्तिले बोहोरालाई कार उपहार दिएका हुन् । 

बोहोराले अर्याललाई धन्यवाद दिँदै आफ्नो फेसबुकमा फोटो राखेका छन् । उनले लेखेका छन् “मलाई पनि भित्री आत्मादेखि माया र स्नेह गर्ने दाइहरु छन् । डिपी अर्याल दाइ जसले आफ्नो जीवनको पहिलो यती राम्रो गाडी दिनुभयो । यो गाडी म जीवनभर माया गरेर चलाउने छु । थ्याङ्क यू सो मच दाई ।” 

को हुन अर्याल ?
अर्याल रेमिटेन्स कम्पनी इजि लिंकका सञ्चालक हुन् । 
जसले केही समय पहिला ‘सिधाकुरा जनतासंग’ का सञ्चालक रवि लामिछाने र उत्पादक बोहोरालाई जापान लगेर सयौँ नेपालीहरु भेला पारेर इजिलिंकको प्रचार गरेका  थिए । 

उक्त रेमिटेन्स मार्फत जापानमा बस्ने नेपालीहरुले रकम पठाएमा अतिरिक्त एक सय रुपैयाँ अतिरिक्त असुल्ने गरेका छन् । 

उक्त रकम अस्पत्तालका लागि खर्चने भनेर अन्य रेमिटेन्स कम्पनीमा भन्दा धेरै शुल्क लिएको जापानमा बस्ने नेपालीहरु बताउँछन् । 

नेपालमा पत्रकारलाई प्रभावित गर्नका लागि उपहार तथा पुरस्कार दिने प्रचलन यो नयाँ होइन । तर पत्रकारलाई कार नै उपहार दिएको सार्वजनिक भएको भने यो पहिलो घटना हो । 

यद्यपी अर्यालले बोहोरालाई आफन्त वा नातेदार भएर उपहार दिए वा कुनै व्यवसायीक सम्बन्धका कारण दिए भन्ने कुरा भने खुलेको छैन । 

पत्रकार आचार संहितामा पत्रकारले पेशागत मर्यादाविपरीत उपहार तथा पुरस्कार ग्रहण गर्न नहुने भनिएको छ । संहिताको पत्रकारले गर्न नहुने कार्य अन्तर्गत बुँदा नम्बर १३ मा भनिएको छ “पत्रकार तथा सञ्चारमाध्यमले पेशागत मर्यादा तथा दायित्वमा प्रतिकूल प्रभाव पर्ने गरी कुनै पनि सरकारी, गैरसरकारी निकाय, व्यापारिक प्रतिष्ठान, संघसंस्था वा व्यक्तिबाट कुनै पनि प्रकारका पुरस्कार, उपहार वा सम्मान वा विशेष सुविधा लिनुहुँदैन ।” 

सामाजिक विकृतिको चर्को आलोचना गरीने कार्यक्रम सिधा कुराका पूर्व पत्रकार सालिकराम पुडासैनीले भिडियो बनाएर आत्महत्या गरेपछि कार्यक्रम सञ्चालक रवि लामिछाने पत्रकार युवराज कँडेल लगायतमाथी आत्महत्या दुरुत्साहनको अभियोग लागेको छ । 

सोही अभियोगमा धरौटीमा रिहा भएपछि मंगलबार चितवनमा समर्थकहरुको बृहद सभालाई सम्बोधन गर्दै लामिछानेले आफ्नो टिमले सित्तैमा ल्वाङ पनि नखाएको दावी गरेका थिए । 


 

६ बर्ष अगाडि

प्रतिक्रिया