काठमाडाैं-तराइ द्रुतमार्ग साढे तीन वर्षमा सकिने, तीनवटा सुरुङ्ग र ८७ वटा पुल

६ बर्ष अगाडि

निर्माणाधिन काठमाडौं–तराई द्रुत मार्ग तीनवर्ष ६ महिनामा सम्पन्न हुने नेपाली सेनाले जनाएको छ । 

आज जंगी अड्डामा पत्रकार सम्मेलन गरी नेपाली सेनाले द्रुत मार्ग समयसीमा भित्र निर्माण सम्पन्न गर्नका लागि आवश्यक सम्पूर्ण शक्ति लगाएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । 

कोरियाको सुसुङ इञ्जिनीयरिङ एवं कन्सल्टिङ कम्पनीले तयार गरेको  विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) अनुसार  द्रुतमार्गको लागत रु एक खर्ब ७५ अर्ब १९ करोड ३५ लाख ७९ हजार रहेको छ । उक्त डिपिआर १ भदौमा मन्त्रीपरिषद्ले स्वीकृत गरेको थियो । 

दु्रतमार्ग एशियाली राजमार्गको ‘क’ वर्गको डिजाइन मापदण्डका आधारमा बनाइने आयोजना प्रमुख सरदलाल श्रेष्ठले बताए । 

चार लेनको रहने द्रुत मार्गको लम्बाइ खोकना देखि निजगढसम्म ७२ दशमलव ५ किलोमिटर रहने छ । यसअघि  ७६ दशमलव २ किलोमिटरको रहने भनिएपनि पछिल्लो डिपिआर अनुसार ३.७० किलोमिटर लम्बाइ घटेको छ । 

द्रुतमार्गमा ६ दशमलव ४१ किमिका तीनवटा सुरुङमार्ग र ८७ वटा पुल बन्ने नेपाली सेनाले जनाएको छ । सुरुङ मार्गमध्ये महादेव डाँडामा ३ दशमलव ३५ किलोमिटर, छोक्रेमा १ दशमलव ६३ किलोमिटर र लेनडाँडामा १ दशमलव ४ किलोमिटर रहने छन् । 

सेनाका अनुसार ८७ वटा पुलमध्ये ७४ मिटर अग्लो र आधा किलोमिटर लम्बाइ सम्मका १६ वटा विशेष प्रकृतिको पुल निर्माण हुनेछन् । 

द्रुतमार्गको खोकना, बुदुने र निजगढमा गरी तीन वटा इन्टरचेन्ज र दुई विश्रामस्थल हुनेछ ।  

खोकना क्षेत्रमा सिकाली मन्दिर र कोदेशमा पुरातात्विक महत्वको क्षेत्र जोगाउने गरी शुरुमा प्रस्तावित सडकको रेखाङ्कनमा सामान्य परिवर्तन गरिएको छ ।  

द्रुतमार्गकाको काम अन्तर्गत  हालसम्म जग्गा अधिग्रहणको कार्य ९६ प्रतिशत एवं रूख कटान ९७ प्रतिशत सम्पन्न भएको सेनाले जनाएको छ। 

चालू आवमा रु १५ अर्ब बजेट विनियोजन भएको द्रुतमार्ग निर्माणका लागि नेपाली सेनाले १० स्थानमा शिविर खडा गरेर काम गर्दै आएको छ ।
   


 

६ बर्ष अगाडि

प्रतिक्रिया