बालुवाटारमा केन्द्रीय सदस्यको खान्कीः चकलेटदेखि मकैसम्म, ओली बोल्दा हाँसो

८ बर्ष अगाडि

काठमाडौं– नवगठित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको पहिलो बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । बैठकको सुरुमा  केन्द्रीय सदस्यहरुलाई दुधिलो मकै, केरा स्यान्डवीच चिकेन रोस्ट तथा चकलेटसम्मको व्यवस्था गरिएको छ ।
ती खानेकुरा खाँदै केन्द्रीय समितिका सदस्यहरुको सपथका साथै एकआपसमा सामान्य परिचय भएको थियो ।
नवनियुक्त केन्द्रीय सदस्यहरुलाई पार्टी अध्यक्ष प्रचण्डले सपथ खुवाएका थिए भने अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले  निर्देशनात्मक मन्तब्य राखेका थिए ।
आफ्नो मन्तब्यका क्रममा प्रधानमन्त्री ओलीले  आर्थिक समृद्धि र जनताको हित हुनेगरी काम गर्न  निर्देशन दिएको एक केन्द्रीय सदस्यले जानकारी दिए । यस्तै अध्यक्ष ओलीले एकतापछि नेकपा मुलुकको सबैभन्दा ठूलो र शक्तिशाली पार्टी भएको र गहन जिम्मेवारी काँधमा आएको बताएका थिए ।
उनले २ नम्बर प्रदेश लगायतका प्रदेशहरुमा पार्टी एकतापछि नेकपा शक्तिशाली भएको बताउँदै कांग्रेस प्रतिपक्षमा पुगेको दाबी समेत गरेका थिए । उनले २ नम्बर प्रदेशमा कांग्रेसलाई ठिक पारिदिने चेतावनी समेत दिएका थिए । अध्यक्ष ओलीले २ नम्बर प्रदेशमा कांंग्रेसलाई ठिक पारिदिने चेतावनी दिइरहँदा बैठक हलमा हाँसोको फोहोरा छुटेको थियो ।
 अर्को एक प्रसंगमा प्रधानमन्त्री ओलीले पार्टी एकतापछि पनि पूरानै पार्टीको नाम लिएर कहिलेकाही झुक्किने गरेको र त्यसले केही फरक नपार्ने बताए । केही दिन अघिको बैठकमा नेता देब गुरुङले झुक्किएर माओवादी केन्द्र भनेको प्रसंग समेत बैठकमा चलेको थियो । यसरी एमाले र माओवादीको नाम लिए पनि पवित्र कामकै लागि नाम लिएको बताउँदै प्रधानमन्त्री समेत रहेका ओलीले उद्धेश्य सही भए केही फरक नपर्ने बताएका थिए ।

 बैठकमा सहभागि हुने केन्द्रीय सदस्यहरु पार्टीको सर्कुलरअनुसार सक्कल नागरिकता र त्यसको फोटोकपी लिएर बालुवाटार पुगेको पनि एक केन्द्रीय सदस्यले जानकारी दिए ।
बैठकमा सबै केन्द्रीय सदस्यहरुले हस्ताक्षर गरेका छन् भने नाकरिकताको फोटोकपि बुझाएका छन् । सो हस्ताक्षर गरिएको माइन्युट निर्वाचन आयोगमा बुझाइने एक केन्द्रीय सदस्यले बताए ।

८ बर्ष अगाडि

प्रतिक्रिया