पार्टी एकताको ढाँचा अन्तिम रुपमा, प्रचण्डले खोले ढिला हुनुको कारण

७ बर्ष अगाडि

चितवन - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार, राजनीतिक संगठन र सिद्धान्त मिलाउनुपर्ने भएकाले पार्टी एकता गर्न समय लागेको बताएका छन्  । 

प्रेस सेन्टर चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले  पदका कुरामा नभएर विचार, राजनीतिक कार्यदिशा र संगठनात्मक संरचनालाई कसरी मिलाउने भन्नेबारेमा नेकपा(एमाले)सँग छलफल भइरहेको जानकारी दिए । उनले भने, “माओवादी केन्द्र र एमालेबीचको एकताभित्र थुप्रै मनोविज्ञान, इतिहास जोडिएका छन् । यी सबै कुरासँग सम्बन्धित विषय अन्ततः वैचारिक राजनीतिक विषय हुन्छन् ।” दाहालले दुवै पार्टीका अध्यक्ष पार्टीको प्रमुख र प्रधानमन्त्री भइसकेकाले पदकै निम्ति झिनाझप्टी नहुने स्पष्ट गरे  । 

पार्टीलाई सही ढंगले एकताबद्ध गर्न र देशलाई सुशासन र समृद्धितर्फ लैजान वामदेव गौतमको संयोजकत्वमा गठित समितिले सुशासनको प्राथमिकता र विकासको प्राथमिकताबारे छलफल गरिरहेको बताए  । उनले भने  “हामी दुई जनाको बीचमा कुरा मिलेर मात्रै होइन, पार्टी संगठनका माथिदेखि तलसम्मका सबैले राम्रो भयो भन्ने महसुस हुने गरी पार्टी एकता गर्दैछौँ ।” उनले  पार्टी एकता र सरकार गठन सँगसँगै होस् भन्ने आफ्नो चाहना रहेको बताए  । 


उनले  पार्टी एकताको ढाँचा अन्तिम रुपमा रहेको पनि जानकारी दिए  । उनले आगामी फागुन ५ गतेभित्र निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष सांसदको नामावली बुझाउने र फागुन ६ गतेदेखि नयाँ सरकार गठनको प्रक्रिया शुरु हुने बताए ।

७ बर्ष अगाडि

प्रतिक्रिया