नेकपाले  दलको  मान्यता पाउला ?

८ बर्ष अगाडि

काठमाडौँ - सहजरूपमा दुई ठूला कम्युनिष्ट पार्टी एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टीले निर्वाचन आयोगबाट दलको मान्यता पाउन भने निकै कसरत गर्नुपर्ने भएको छ । नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐनमा रहेका कतिपय प्रावधानले दलको मान्यता पाउन बढी मिहिनत गर्नुपर्ने देखिएको छ, आजको गोरखापत्रमा खबर छ  । 
निर्वाचन आयोगमा कानुन हेर्नु हुने आयुक्त ईश्वरीप्रसाद पौड्यालले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १५ को उपधारा (४) मा ‘दलको सबै तहको समितिमा कम्तीमा एक तिहाइ महिला सदस्य हुने व्यवस्था गर्नुपर्ने छ’ भनी व्यवस्था रहेको बताए  । 
नयाँ गठन भएको नेपाल कम्युनिष्ट पार्टीको घोषित ४४१ सदस्यीय केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला पुग्नका लागि कम्तीमा १४६ जना महिला सदस्य हुनुपर्ने हुन्छ । सो पार्टीका केन्द्रीय कमिटी सदस्य शशी श्रेष्ठले हालको केन्द्रीय कमिटिमा महिलाको संख्या ७५ जना रहेको जानकारी दिइन्  । प्रतिशतको हिसाबले अहिलेको केन्द्रीय कमिटीमा १७ प्रतिशत महिलाको मात्रै प्रतिनिधित्व रहेको छ । 
राजनीतिक दलसम्बन्धी ऐनको दफा १५ मा दलको सङ्गठनात्मक संरचनाको व्यवस्था गरिएको छ । दफा (१) दलको सङ्गठनात्मक संरचना तथा पदाधिकारीसम्बन्धी व्यवस्था विधानमा उल्लेख भए बमोजिम हुनेछ उल्लेख छ । 
त्यस्तो सङ्गठनात्मक संरचनाको व्यवस्था गर्दा कम्तीमा स्थानीय तह, प्रदेश तह र केन्द्रीय तहमा कार्यकारी अधिकार प्रयोग गर्न सक्ने समिति रहने गरी गर्नुपर्नेछ व्यवस्था गरिएको छ । स्थानीय तहको सङ्गठनात्मक संरचनाको व्यवस्था गर्दा जिल्लास्तरको सङ्गठनात्मक संरचनासमेत रहने गरी व्यवस्था गर्न सकिने छ । 
यसैगरी, विधानबमोजिम निर्वाचन, मनोनयन वा नियुक्ति गर्दा नेपालको सामाजिक विविधता प्रतिबिम्बित हुने गरी आफ्ना सदस्यहरूमध्येबाट त्यस्ता समितिमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागिता हुने व्यवस्था गर्नुपर्ने छ भनी किटान गरिएको छ । 
निर्वाचन आयोगमा राजनीतिक दल सम्बन्ध शाखाका प्रमुखसमेत रहेका उपन्यायाधिवक्ता घनश्याम ओझाले पहिलाको ऐनमा ३३ प्रतिशत महिला हुनुपर्ने व्यवस्था थिएन तर अहिलेको ऐनले राजनीतिक दलको प्रत्येक तहको कार्यकारी समितिमा ३३ प्रतिशत महिला हुनैपर्ने कानुनी व्यवस्था रहेको बताए  । 
उनले  हाल आयोगमा १२६ वटा राजनीतिक दल दर्ता रहेका र ती सबै दलले त्यो कानुनी शर्त पूरा गर्नुपर्छ, कतिपयले पूरा गरेका छन् र नगर्नेले महाधिवेशनबाट पूरा गर्ने शर्तमा दलको मान्यता पाएको जानकारी दिए  । 

८ बर्ष अगाडि

प्रतिक्रिया