काठमाडौँ, रसुवागढी– काठमाडौँ रेलमार्गको अध्ययन सुरु भएको छ । आइतबार आएको चिनियाँ प्राविधिक टोली लिएर रेल विभागका उच्च अधिकारी रसुवागढी पुगेका छन् ।
भौतिक पूर्वाधार मन्त्रालयका सचिवसहित रेल विभागका टोलीले केही दिन पहिले चीन पुगेर गरेको सम्झौताअनुसार रेलमार्ग निर्माणका विषयमा अध्ययन गर्न चिनियाँ टोली नेपाल आएको हो । रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले सामािजक सञ्जाल फेसबुकमा रेलमार्गको अध्ययन सुरु भएको जानकारी दिएका छन् ।
उनले रेलमार्ग अध्ययनका लागि चिनियाँ प्राविधिक लिएर रसुवागढी तर्फ लागेको जानकारी दिएका छन् ।
करिब ८० किलोमिटर लामो उक्त रेलमार्ग निर्माणका मोडालिटी भने टुंगो लागेको छैन । नेपाल सरकारले चीनलाई अनुदानमा सो मार्ग बनाइदिन आग्रह गरेको छ । तर चीन सरकारले भने सो विषयमा हालसम्म सहमति जनाएको छैन ।
आगामी अगस्टसम्म अध्ययन सकेर विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने तयारीमा रेल विभाग लागेको छ । चिनियाँ पक्षसँग भएको सम्झौताअनुसार केरुङबाट काठमाडौँ, काठमाडौँदेखि पोखरा र पोखरा लुम्बिनीसम्म रेलमार्ग निर्माण गरिने छ । रसुवागढी काठमाडौँ रेलमार्गको लागत ३०० अर्बको हाराहारीमा हुने छ ।
नियमित रुपमा अध्ययन गरिने र आगामी अगस्टसम्म जसरी पनि सक्ने तयारी गरिएको छ । सरकारले सोमबार मात्रै सार्वजनिक गरेको वार्षिक नीति तथा कार्यक्रममा समेत सो रेलमार्गलाई प्रमुख प्राथमिकतामा राखेको छ । चीन सरकारले समेत सो रेलमार्ग निर्माणमा चासो राख्दै आएको छ ।
प्रतिक्रिया