कतार भिसा सेण्टरको ठगी शुरु, प्रतिव्यक्ति २१ हजार असुल्दै

६ बर्ष अगाडि

काठमाडौं – काठमाडौंमा खुलेको कतार भिसा सेण्टरले रोजगारीका लागि जाने कामदारलाई ठगी गर्न शुरु गरेको छ । 
कामदारबाट कुनै अतिरिक्त शुल्क नलिने शुरु गरेको सेण्टले विभिन्न सेवा शुल्क भन्दै २१ हजार रुपैयाँ अशुलेर ठगी गर्न थालेको हो । 

कतार जान सजिलोका लागि भिसा, स्वास्थ्य परीक्षण र बायोमेट्रिक, बिमा र सक्कली करारपत्रको सेवा एकै स्थानबाट दिने भन्दै महाराजगञ्जमा रहेको भिसा सेण्टरको १५ जेठमा उद्घाटन गरिएको थियो । 
भिसा सेण्टर नेपालमा कसले सञ्चालन गरिहेको छ भन्ने विषयमा परराष्ट्र र श्रम मन्त्रालयले औपचारीक जानकारी दिन मान्दैनन् ।

नेपालस्थित कतारी राजदुतावासले अनुमति मागेपछि परराष्ट्रमन्त्रालयले भिसा सेण्टरको अनुमति दिएको थियो । श्रम मन्त्रालयका अधिकारीहरु आफूहरुले आफूहरुले कतारसँग एमओयूमा भिसा सेण्टरको विषय समावेश गर्ने तयारी गरिरहँदा परराष्ट्रले हतारीएर अनुमति दिएको बताउँछन भने परराष्ट्र मन्त्रालयले श्रम मन्त्रालयको सिफारीसमै अनुमति दिइएको बताएको छ । 

सञ्चालकको विषयमा तथ्य लुकाएर राख्नु नै सरकारी संरक्षणमा लुटका लागि अनुमति दिएको तथ्य पुष्टि हुने सरोकारवालाहरु बताउँछन् । तर परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार एसओएस मेनपावरका सञ्चालक हेम गुरुङ्गको नेतृत्वमा कतार भिसा सेण्टर सञ्चालनमा छ । 

हेम गुरुङ्ग ति व्यक्ति हुन जो विभिन्न मुद्धामा पटक पटक कार्वाहीमा परेका थिए । शुरुमा खाडी मुलुकमा काम गरेर फर्केका गुरुङ्गले  मध्यपूर्वका विभिन्न देशमा कामदार पठाउनका लागि मेनपावर खोलेका थिए । जुन कम्पनीलाई मोरङ, सुनसरी र झापामा  अनधिकृत शाखा कार्यालय सञ्चालन गरेको भेटिएपछि वैदेशिक रोजगार विभागले १ लाख रुपैयाँ जरिवाना गरेको थियो ।
कुनै समय खाडी, मलेसिया लगाएतका देशमा सबैभन्दा धेरै कामदार पठाउने एसओएस कामदारलाई सबैभन्दा धेरै युवाहरुलाई ठग्ने गरेको आरोप छ । 

भिसा सेन्टरको व्यवस्थापन गर्नका लागि सिंगापुरमा दर्ता भएको ‘बायोमेट सर्भिस’ ले ठेक्का पाएको हो । बायोमेटले नेपालको जिम्मेवारी मल्टिभर्स प्रालिलाई दिएको छ ।  उक्त कम्पनी पनि ठगी आरोप लागेको कम्पनी हो । 

मेनपावरमा सबैभन्दा धेरै ठगी गर्ने सञ्चालकलाई नै कतार भिसा सेण्टर सञ्चालन गर्न दिइएको भन्दै बैदेशिक रोजगार व्यवसायी संघले नै चर्को बिरोध गरेका छन । 

सिन्डिकेट हुने गरी भिसा सेन्टर खोल्न सरकारले सहमति दिएको भन्दै वैदेशिक रोजगार व्यवसायी संघका महासचिव नरेश गेलालले राजीनामा घोषणा गरेका थिए । 

शुरुमा कुनै पनि शुल्क नलिने भनेर खोलिएको सेण्टरले कतारमा रोजगारीमा जानका लागि सिण्डिकेट लगाएको र चर्को शुल्क असुल्न थालेको व्यवसायीहरुको आरोप छ । 

कामदारलाई ठगी गर्न शुरु गरेको विषयमा श्रम मन्त्रालयले हेर्नुपर्ने परराष्ट्रका अधिकारी बताउँछन् । तर श्रम मन्त्रालयले भने आफूहरुले अनुमति पनि नदिएकोले कसले सञ्चालन गरेको छ भन्ने विषय जानकारी नभएको भनेर तर्कने गरेका छन् । 

अनुमति दिने र नियमन गर्ने निकाय पञ्छिनु शक्तिकेन्द्रको संरक्षण रहेका गुरुङ्गलाई कार्वाही नगर्ने नियत रहेको प्रष्ट हुन्छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया