मुहान क्षतिग्रस्त भएपछि खानेपानी अभाव

६ बर्ष अगाडि

बाढीपहिराले खानेपानी वितरण गरिने पाइप बगाउँदा बैतडीको सुर्नया गाउँपालिका–८ मल्लोढोलेमा पिउने पानीको समस्या भएको छ । 

पानी वितरण गर्ने पाइप लाइन र मुहान पहिराले क्षतिग्रस्त भएपछि खानेपानीको समस्या भएको हो । खानेपानी नहुँदा सर्वसाधारण समस्यामा छन् । “खोलाको धमिलो पानी पिउनुपरेको छ”, स्थानीयवासी प्रेम बोहराले भन्नुभयो, “बाढीपहिराले पानीको मुहान बगाएकाले पानीसमेत खान पाइएको छैन ।” शुद्ध पानी पिउन नपाउँदा झाडापखलाले पहिरोपीडितलाई सताएको उहाँको भनाइ छ । 

“पहिराले पानीको मुहान बगाएकाले खानेपानीको समस्या भएको हो”, स्थानीय भानबहादुर बोहराले भन्नुभयो, “आधा घण्टाको दूरीमा रहेको खोलाबाट पानी ल्याउनुपर्ने बाध्यता छ । खोलाबाट ल्याएको पानी पिउनाले गाउँमा विभिन्न रोगको जोखिमसमेत बढ्दै गएको छ ।” 

पहिराले स्थानीयवासीका घरखेतमा क्षतिसमेत पु¥याएका छन् । पहिराले करिब १० वटा पानी घट्टको कुलो बगाउँदा कुटानीपिसानीका लागिसमेत समस्या भएको स्थानीवासी बताउँछन् । सतबाँझ श्रीभावर सडकअन्तर्गत ढोल्यामोडदेखि वडा कार्यालयसम्म काटिएको सडकले ६ घरपरिवारलाई विस्थापित गरेको छ भने २५ परिवार पहिरोको जोखिममा छन् । 

पाँच परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण

बैतडीको सुर्नया गाउँपालिका–८ मल्लोढोलेमा पहिराको उच्च जोखिममा रहेका पाँच परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

घर नजिकै सडक भत्किँदा पहिरो खसेपछि उच्च जोखिममा रहेका पाँच परिवारलाई छिमेकीको घरमा सारिएको सुर्नया गाँउपालिका– ८ का अध्यक्ष आनन्दसिंह बोहराले बताउनुभयो ।

अध्यक्ष बोहराका अनुसार सुर्नयाकै वडा नम्बर ६ मा रहेको शंकरपुर प्रहरी चौकी, जनप्रतिनिधि र स्थानीयको सहयोगमा प्रभावित परिवारलाई सुरक्षित ठाउँमा सारिएको हो । अम्मरसिंह बोहरा, लालबहादुर बोहरा, डम्मर बोहरा, रामसिंह बोहरा र धौलसिंह बोहराको परिवारलाई सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष बोहराले जानकारी दिनुभयो ।  

    सतबाँझ श्रीभावर सडकखण्डअन्तर्गत ढोल्यामोडदेखि वडा कार्यालयसम्म काटिएको सडकमा पहिरा खस्दा २३ परिवार अझै जोखिममा रहेका वडाध्यक्ष बोहराले बताउनुभयो । भिरालो जमीन भएकाले सडकमा खनिएको माटो र पहिराका कारण बस्तीमा समस्या निम्त्याएको हो । पानी पर्ने बित्तिकै फेरि क्षति पुग्ने हो कि भनेर स्थानीय बासिन्दा चिन्तित बनेका प्रेमबहादुर बोहराको भनाइ छ । पहिराले स्थानीयवासीको खेतबारीमा नोक्सानी पु¥याएको छ । 


 

६ बर्ष अगाडि

प्रतिक्रिया