नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले मिलेनियम च्यालेन्ज कम्प्याक्ट अनुदान सहायता अन्तर्गत अमेरिकाले नेपाललाई दिने ५० करोड अमेरिकी डलरको नलिन चेतावनी दिएको छ । उक्त रकम अमेरिकाको हिन्द प्रशान्त सैन्य साझेदारीको रणनीति अन्तर्गत आएको भन्दै सो पार्टीले बिरोध गरेको हो ।
पार्टीका महासचिव मोहन बैद्य ‘किरण’ले आज एक विज्ञप्ती जारी गरी नेपाल सरकार हिन्द प्रशान्त सैन्य साझेदारीको रणनीतिमामा सामेल हुन खोजेको भन्दै बिरोध गरेका छन् । “अमेरिकी साम्राज्यवादद्वारा ल्याइएको हिन्द प्रशान्त रणनीतिमा सम्मिलित नहुन, सो रकम अस्वीकार गर्न तथा पञ्चशीलको मान्यताका आधारमा परराष्ट्र नीति अँगाल्न सरकारसित जोडदार माग गर्दछ”, विज्ञप्तीमा भनिएको छ ।
क्रान्तिकारीले १४ मंसिरमा हुने उपनिर्वाचन बहिस्कार गर्ने पनि जनाएको छ । सत्ता तथा व्यवस्था बदनाम हुँदै गएकोले पार्टीको काठमाडौंमा बसेको पोलिब्युरो बैठकले निर्वाचनको उपयोग गरेर भन्दा बहिस्कार गरेर संसदवादको भण्डाफोर गर्र्ने निर्णय गरेको विज्ञप्तीमा जनाइएको छ । प्रतिनिधिसभाका लागि १, प्रदेश सभा सदस्य ३ र स्थानीय तह समेत ३६ जिल्लाका ५० स्थानमा रिक्त पद पूर्तिका लागि १५ मंसिरमा उपनिर्वान गर्ने तयारी सरकारले शुरु गरेको छ ।
सो पार्टीले भारत सरकारले गरेको धारा ३७० र ३५ (क) को खारेजी र जम्मु कास्मिरबाट लद्दाखलाई अलग गराउने निर्णयको बिरोध गरेको छ ।
सरकारले आफै गठन गरेको सत्य निरुपण तथा मेलमिलाप आयोग विघटित गरिएको भन्दै सो पार्टीले उपयुक्त आयोगहरुलाई पुनर्गठित गरी समस्याको समाधान निकाल्न सरकारसंँग माग गरेको छ । “साथै, नेपालको आन्तरिक मामिलामा कुनै पनि प्रकारको हस्तक्षेप नगर्न सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाहरुसित समेत विशेष आग्रह गर्दछ”, विज्ञप्तीमा भनिएको छ ।
प्रतिक्रिया