बार्गेनिङ्ग गर्दै असुल्दै सम्पत्ति शुद्धीकरण विभाग

६ बर्ष अगाडि

काठमाडौं – गैरकानूनी कमाइको अनुसन्धान गर्ने निकाय सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा परेका उजूरीमाथि कर्मचारीले बार्गेनिङ गर्ने थलो बनाएको तथ्य फेला परेको छ ।  

परेका उजूरीहरुउपर छानविन गर्नुको साटो तामेलीमा राखेर बार्गेनिङ्ग गर्न थालेपछि कार्वाही शून्य हुन थालेको छ । 

३१ असार २०६८ सालमा स्थापना भएको विभाग सम्पत्ति शुद्धीकरण, आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी र अन्य विनासका हातहतियार विस्तारमा सहयोग गर्न कुनै पनि प्रकारका गैरकानूनी कमाई र योगदानका विरुद्ध अनुसन्धान गर्ने आधिकारीक निकाय हो । 

अर्थ मन्त्रालय अन्तर्गत रहेको उक्त विभागको काम प्रभावकारी बनाउन ३ फागुन २०७४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले  आफ्नै मातहत ल्याई यातायात ब्यवस्था विभागमा सिन्डिकेट अन्त्य गर्न भूमिका खेलेको भनेर चर्चामा आएका रुपनारायण भट्टराईलाई महानिर्देशक बनाएका थिए । 

तर भट्टराई महानिर्देशक भएपछि पनि विभागका परेका उजूरीहरुमाथि छानविन र कार्वाही हुनुको साटो तामेलीमा राखेर बार्गेनिङ्ग गर्ने प्रबृत्ति बढेको कर्मचारीहरुको आरोप छ ।

विभागमा २०६८ देखिका ४८२ उजूरीहरु तामेलीमा छन् । ‘महानिर्देशक भट्टराईले उजूरीउपर छानविन गरी टुंग्याउनेतर्फ ध्यान दिएको भए यतिधेरै उजूरी तामेलीमा हुने थिएनन्’ विभागका एक अधिकृत भन्छन्,‘प्रधानमन्त्रीले विश्वास गरेर पठाएपनि उनले बार्गेनिङ्गको थलो बनाए ।’ 

स्रोतका अनुसार भट्टराईले ओखलढुंगा मालपोतका लेखा अधिकृत रहेका आफ्ना कान्छो भाईलाई बोलाएर ठूलो मुद्धाको बारेमा जानकारी गराउने र बार्गेनिङ्गको थलो बनाएका छन् । 

‘बाहिर देखाउनका लागि यो वर्ष एउटा बैंकिङ्ग कसूरको ठूलो मुद्धा छानविन गर्ने र अरु सबै मुद्धा तामेलीमा राखेर बार्गेनिङ्ग गर्ने योजना अनुसार काम भइरहेको छ’, स्रोतको भनाइ छ । 

विभागका रहेका राजस्व अनुसन्धानमा विनोद लामिछाने र राजेन्द्र हमाल गरी २ जना उपसचिव छन् । त्यसमध्ये हमाल बिहानै कार्यालयमा पुगेर हाजिर गर्ने र दिनभरी न्यूरोडको बिशालबजारमा पुगेर बार्गेनिङ्ग गर्छन् । बेलुका फेरी हाजिर लगाउन कार्यालय पुग्ने हमालको प्रबृत्ति देखेर कर्मचारी समेत दिक्क भएको गुनासो गर्न थालेका छन् । 

अर्का उपसचिव तेजप्रसाद प्रसाईले ख्वप इन्जिनियरिङ्ग कलेज, चाँगुनारायणको उजूरीको विषयमा बार्गेनिङ्ग शुरु गरेका छन् । छानविनका क्रममा सम्पूर्ण कागजात नल्याएर बार्गेनिङ्ग शुरु गरेको विभागका कर्मचारीहरुको भनाइ छ । 

प्रसाई नेपाल इन्जिनियरिङ कलेजमा भएको अनियमितता छानबिन गर्ने क्रममा घुस लिएर अनुसन्धान तुहाएको आरोप उनीमाथि लागेको छ । २०७० सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बन गरी विशेष अदालतमा मुद्धा चलाएका उनी अदालतमा मोटो रकम चलखेल गरी सफाई पाएका व्यक्ति रहेको आरोप छ । अहिले उनले झापाका सबै नेतासँग मेरो राम्रो सम्बन्ध छ भन्दै बार्गेनिङ्ग गर्ने गरेको स्रोत बताउँछ । 

बार्गेनिङ्ग कार्यमा यीनका भरपर्दा सहयोगी हुन नासु प्रकास सापकोटा । ‘कुनै उजूरीमाथी छानविनको लागि अनुसन्धान अधिकृत जो खटिएपनि सापकोटा बार्गेनिङ्ग गर्न पुगिहाल्छन्’ एक अधिकृत भन्छन् ‘उनले सविता राणा बिरुद्ध परेको उजूरीमाथी गर्न नदिइ ठूलो रकम लिएर तामेलिमा राखेका छन् ।’ 

सम्पत्ति सुद्धीकरण विभागमा बार्गेनिङ्ग काण्ड मच्चाउने अर्का व्यक्ति हुन एसपी प्रकाश रानाभाट । गृहमन्त्रीको छोरा र गृहसचिव प्रेम कुमार राईसँग राम्रो सम्बन्ध छ भन्दै बार्गेनिङ्ग गर्ने उनी ३३ केजी सुनकाण्डमा जोडिएका चाचाजी भन्ने महाबीर प्रसाद गोल्यान अग्रवालसँग बार्गेनिङ्ग शुरु गरेको स्रोतको दावी छ । 

अनुसन्धानमा कुनै अनुभव नभएका उनी शक्तिकेन्द्रलाई प्रभावमा पारेर अहिले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पुगेका व्यक्ति हुन् । 

यसरी राज्यको महत्वपूर्ण निकाय बार्गेनिङ्गको चंगुलमा फसेपछि गैरकानूनी सम्पत्ति आर्जन गर्नेहरु हच्किनुको साटो खुलेआम चुनौती दिँदै हिड्न थालेका छन् । यसले राज्यलाई भलो गर्दैन ।

६ बर्ष अगाडि

प्रतिक्रिया