ललितपुरका तीन गाँउपालिकाको यस्तो  धन्दा : रकम दुरुपयोग गर्दै गाडी खरिद

७ बर्ष अगाडि

काठमाडौँ । कृषि क्षेत्रको विकास र विस्तारका लागि भन्दै सरकारले छुट्याएको रु तीन करोड ७० लाख भन्दा बढी रकमबाट ललितपुरका तीन वटा गाँउपालिकाले सवारी साधन खरिद गरेको पाइएको छ ।
स्थानीय स्तरमा कृषि क्षेत्रको विकास र कृषकलाई आधुनिक कृषि प्रणालीमा अभ्यस्त गराउन खर्च गरिने प्रयोजनका लागि उपलब्ध गराएको रकम चरम दुरुपयोग भएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् ।
स्थानीय सरकार आएपछि जनताको पक्षमा काम हुन्छ र स्थानीय स्तरमै सबै सेवा पाइन्छ भनेर आश गरेर बसेका जनता समेत जनप्रतिनिधिको नाममा भएको अनियमितता पछि आश्चर्यमा परेका छन् ।
उनीहरुले गाँउपालिकाका अध्यक्ष र कर्मचारीको मिलेमतोमा भएको अनियमितताको विरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने तयारी समेत गरेका छन् ।
जिल्लाका तीनवटा गाउँपालिकाले सम्बन्धित क्षेत्रमा प्रयोग नगरी अन्यत्रै खर्च गरेको पाइएपछि उनीहरु अख्तियार गुहार्ने तयारीमा पुगेका हुन् ।
ललितपुरको कोन्ज्योसोम, बागमती र महांकाल गाउँपालिकाले सरकारले कृषिका लागि विनियोजित गरेका करिब ३ करोड ६६ लाख रकम गाडी खरिद लगायत अन्य क्षेत्रमा खर्च गरेका हुन् । 
जुन क्षेत्रमा खर्च गर्न भनेर सरकारले उपलब्ध गराएको हो, सोही क्षेत्रमा नै खर्च गर्नुपर्ने भएपछि तीन वटै गाँउपालिकाले सवारी साधन खरिदमा नै उक्त रकम खर्च गरेको पाइएको हो ।
जिल्ला कृषि विकास कार्यालय ललितपुरले चालू आर्थिक वर्षमा  ती  तीनवटा गाउँपालिकाका लागि छुट्टाइएको ३ करोड ७० लाख रकम विनियोजन गरेको छ । विनियोजित रकम कुनै पनि गाँउपालिकाले तोकिएको क्षेत्रमा खर्च गरेका छैनन् ।
कोन्ज्योसोम गाउँपालिकाले गाडी खरिद गरेको छ । गाडी खरिद विषयमा कोन्ज्योसोम गाउँपालिकाले जानकारी दिन अटेर गरेको छ । कोन्ज्योसोम गाउँपालिकको प्रमुख गोपीलाल स्याङ्ताङ, कार्यकारी प्रमुख सुमिन्द्र तामाङले त्यसबारेमा कुराकानी नगर्ने बताए । उनीले जनताको पक्षमा नै खर्च गरिएको भन्दै सवारी साधनको विषयमा कुरा नगर्न आग्रह गरे ।
गाउँपालिकालाई १ करोड १५ लाख ७७ हजार रकम कृषि सम्बन्धी विभिन्न कार्य गर्नका लागि विनियोजन गरिएको भएपनि कुनै पनि रकम कृषि क्षेत्रमा खर्च नगरेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख भरतप्रसाद देवकोटाको भनाइ छ ।
प्रमुख देवकोटाका अनुसार बागमती  र महांकाल गाउँपालिकाले पनि कृषि सम्बन्धित कार्यमा छुट्टाइएको बजेट कृषि क्षेत्रमा खर्च नभएको र अरु कुन क्षेत्रमा खर्च भएको हो सो को बारेमा समेत जानकारी नगराइएको देवकोटाको भनाइ छ ।
जनप्रतिनिधि भन्दै आफूले चाहेको क्षेत्रमा खर्च गरेर अख्तियारको समेत दुरुपयोग गरिएको हो ।
बागमती गाउँपालिकाको प्रमुख विरबहादुर लोप्सनले २५ लाख रकम कृषि क्षेत्रमा छुट्याइएको बताए । अरु रकम नी भन्ने प्रश्न गर्दा उनले अत्यावश्यक काममा खर्च भएको बताए ।
यसैगरी महाकांल गाउँपालिकाको अध्यक्ष रामचन्द्र दाहाल तथा कार्यकारी अधिकृत भने आजको अर्थसँग सम्पर्कमा आउन चाहेनन् ।
 
कुन गाँउपालिकालाई कति रकम ?
कोन्ज्योसोम गाउँपालिका

कृषि प्रसार कार्यक्रमः ३३ लाख ५५ हजार
सहकारी खेती साना सिंचाई तथा मल बीउ ढुवानी कार्यक्रमः ४ लाख ३० हजार
वाली विकास कार्यक्रमः १० लाख ७५ हजार
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाः ५ लाख ६० हजार
आलु, तरकारी तथा मसला बाली ः ४ लाख ८ हजार
माटो परीक्षण सुधार सेवा कार्यक्रमः ९४ हजार
कृषि विभाग कार्यक्रमः ९ लाख ६० हजार
 
बागमती गाउँपालिकाको लागि विनियोजित रकम
कृषि प्रसार कार्यक्रमः ३३ लाख ६५ हजार
सहकारी खेती साना सिंचाई ः ४ लाख ३० हजार
वाली विकास कार्यक्रमः १० लाख ५० हजार
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाः ६३ लाख
आलु, तरकारी तथा मसला बाली ः ४ लाख ८ हजार
माटो परीक्षण सुधार सेवा कार्यक्रमः ९४ हजार
कृषि विभाग कार्यक्रमः ३ लाख २० हजार
 
महांकाल गाउँपालिका
कृषि प्रसार कार्यक्रमः ३३ लाख ४७ हजार
सहकारी खेती साना सिंचाई ः ६ लाख ५५ हजार
वाली विकास कार्यक्रमः ५ लाख
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाः ८ लाख १ हजार
आलु, तरकारी तथा मसला बाली ः ४ लाख ८ हजार
माटो परीक्षण सुधार सेवा कार्यक्रमः ९४ हजार
कृषि विभाग कार्यक्रमः ३ लाख २० हजार

७ बर्ष अगाडि

प्रतिक्रिया