बुटवल– बुटवलको पर्यटकीयस्थल मणिमुकुन्दसेन उद्यान अर्थात फूलबारीमा अवैध काठ फेला परेको छ । त्यो पनि चितुवा बस्ने खोरभित्र । चितुवा बस्ने घरभित्र अवैध काठको थुप्रो देखेपछि फुलबारीमा प्रवेश गर्ने दर्शक अलमलमा परे ।
फुलबारीको चितुवा बस्ने खोरभित्र काठ छ भन्दै हल्ला चल्न थालेपछि रुपन्देहीका सहायक वन अधिकृत रविन्द्र चौधरीको नेतृत्वमा आएको टोलीले आएर सोधीखोजी गर्न थाल्यो । सामुदायिक वन र फुलबारीका पदाधिकारी तथा कर्मचारी भने सम्पर्कमा आउनै चाहेनन् ।
उद्यानको चितुवा बस्ने घरमा लुकाएर राखेको अवस्थामा ७३ दशमलव १९ क्युफिट टिक रुखको काठ डिभिजन वन कार्यालय रुपन्देहीले बरामद गरेको छ । बुटवल सामुदायिक वनभित्र रहेको पर्यटकीयस्थल फूलबारीको चिडियाखानाभित्र काटेर गोलिया बनाइएको २८ थान टिकको काठ भेटिएको वन कार्यालय रुपन्देहीको भनाई छ ।
मणिमुकुन्द सेन उद्यान बुटवल फूलबारी सञ्चालक समितिको महासचिवको जिम्मेवारीमा बुटवल उपमहानगर वडा नम्बर २ का वडाध्यक्ष रमेश नेपाल र सचिव पदमा वडा नम्बर १ का अध्यक्ष महेन्द्र लिगल रहेका छन् ।
जनप्रतिनिधिनै सम्मिलित फूलबारीभित्र चितुवा रहेको चिडियाघरभित्र लुकाएर राखेको अवस्थामा काठ फेला पर्नुलाई रहस्मय रूपमा हेरिएको छ । सचिव महेन्द्रले आफुलाई काठ भेटिएको बिषय थाहा नभएको रातोपाटीलाई बताए ।
बरामद गरिएको काठको बजार मूल्य करिब अढाई लाख पर्छ । दुईवटा कोठामा राखिएको काठमध्ये एउटा कोठामा भने दुईवटा गोलिया मात्रै छ । ढलेका रुख काट्ने निहुँमा अन्य रुख काटेर काठको तस्करी गरेको आशंका गरिएको छ । स्थानीयले वनभित्र अवैधरूपमा रुख कटान भएको भन्दै डिभिजन वन कार्यालय रुपन्देहीमा खबर गरेका थिए ।
फूलबारीमा डिभिजन वन कार्यालयबाट खटिएको टोलीले प्रमाण नभएका काठ फेला पारेको छ । ‘कुनै पनि प्रमाण नभएको ७३.१९ क्युफिट काठ बरामद गरेका छौं, छानबिन गरेर कारबाही गर्छौं,’ डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुखले भने ।
चितुवा बस्ने घरभित्र कसैलै शंकानै नगर्ने ठाउँमा काटिएका काठ राखिएको छ । शंकास्पद रूपमा काठ फेला परेकाले छानबिन गरेर घटनामा संलग्नलाई कारबाही गरिने डिभिजन वन प्रमुख पछाईले बताए
प्रतिक्रिया