स्वास्थ्य बीमाको सेवा बढ्दो

६ बर्ष अगाडि

आर्थिक वर्ष ०७५÷७६ मा दमौली अस्पतालबाट स्रोह हजार ४८५ जनाले स्वास्थ्य बीमामार्फत स्वास्थ्य उपचार सुविधा लिएका छन् । 

उनीहरुले स्वास्थ्य बीमाअन्तर्गत औषधि, आँखा, दन्त, मानसिक, डायलासिस, एक्स–रे, भिडियो एक्स–रे, प्रयोगशाला लगायतका सुविधा लिएका हुन् । मिर्गौला, मुटु, ‘लिभर फक्सन टेष्ट’ जस्ता जटिल रोग लगायतका सेवा सुविधा दमौली अस्पतालबाट प्रदान गर्न थालेपछि बीमितहरुले लामो दूरी धाउनुपर्ने समस्याको अन्त्य भएको स्वास्थ्य बीमाका फोकल पर्सन महेन्द्र गौतमले जानकारी दिनुभयो । 

उहाँका अनुसार ओपिड सेवातर्फ आठ हजार ६७९ महिला, छ हजार ५२४ पुरुषले सेवा लिएका छन् । आकस्मिकतर्फ ५७४ महिला र छ सय आठ पुरुषले सेवा लिएका छन् । त्यसैगरी नौ वर्षमुनिका एक हजार ६६, दश देखि १९ वर्षसम्मका एक हजार ४३२, बीस देखि ५९ सम्मका नौ हजार ५९३ र साठी वर्षमाथिका चार हजार ३९४ जनाले स्वास्थ्य बीमाको सुविधा लिएका छन् । 

आव ०७५÷७६ मा स्वास्थ्य बीमामार्फत रु एक करोड तीन लाख बराबरको राजश्व सङ्कलन भएको छ । फोकल पर्सन गौतमले भन्नुभयो, “गत आर्थिक वर्षमा सात हजार ४८८ जनाले स्वास्थ्य बीमामार्फत उपचार सुविधा लिएका थिए भने रु ६२ लाख राजश्व सङ्कलन भएको थियो ।”

स्वास्थ्य बीमा बोर्डले एक हजार ११८ किसिमका औषधि सिफारिस गरेर उपलब्ध गराए पनि उपचारका लागि आउँदा औषधि नपाएको भनी सर्वसाधारणले गुनासो गर्ने गरेका छन् ।  जिल्लाको चार नगरपालिका र छ गाउँपालिकाका गरी कूल एक लाख १३ हजार ७०० जनाले बीमा गराएको स्वास्थ्य बीमा तनहुँका दर्ता अधिकृत नवराज भट्टराईले जानकारी दिनुभयो । पछिल्लो समय मानिसमा चेतना अभिवृद्धि भएसँगै स्वास्थ्य बीमा गर्नेको सङ्ख्या बढ्दै गएको छ । 

उहाँका अनुसार नगरपालिका क्षेत्रमा सबैभन्दा बढी शुक्लागण्डकी नगरपालिकामा तीन हजार ३८७ घरधुरीका १४ हजार ४१५, व्यासनगरपालिकामा दुई हजार ६३५ घरधुरीका नौ हजार ७९५, भिमाद नगरपालिकामा दुई हजार ४५१ घरधुरीका नौ हजार ३०, भानुनगरपालिकामा एक हजार २५१ घरधुरीका चार हजार १२८ जनाले स्वास्थ्य बीमा गरेका छन् । 

त्यसैगरी देवघाट गाउँपालिकाका एक हजार १९१ घरधुरीका चार हजार ८६०, म्याग्दे गाउँपालिकामा ८३१ घरधुरीका तीन हजार ४६५, बन्दीपुर गाउँपालिकामा एक हजार १०५ घरपरिवारका चार हजार पाँच, आँबुखैरेनी गाउँपालिकामा ६२० घरधुरीका दुई हजार ६२२, घिरिङ गाउँपालिकामा ५०७ घरधुरीका दुई हजार ८८० र ऋषिङ गाउँपालिकामा ३८६ घरधुरीका एक हजार ६५० जनाले बीमा गरेका छन् । 

उपचारमा आउने बिरामीले फार्मेसीमा औषधि सकिएर वा बीमा बोर्डले सिफारिस गरेर पनि नपाएका सन्दर्भमा भने जानकारी नहुँदा कुनै कुनै समयमा औषधिको अभावजस्तो देखिने गरेको उहाँले बताउनुभयो । करीब ६० प्रतिशत बीमितले मात्रै नवीकरण गराएका छन् । दर्ता अधिकृत भट्टराईले भन्नुभयो, “शत्प्रतिशत बीमा नवीकरणका लागि उनीहरुको समस्या बुझेर दर्ता प्रक्रियामा ल्याउन दर्ता सहयोगीलाई वडावडामा खटाइएको छ ।” वडाको क्षेत्रफल हेरी कम्तीमा एकदेखि दुई जनासम्म दर्ता सहयोगीहरु परिचालन गरिएको छ । 

स्वास्थ्य बीमा बोर्डले ७० वर्ष पुगेका ज्येष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य बीमा गरिदिन लागेको छ । उनीहरुको बीमाका लागि ज्येष्ठ नागरिक परिचयपत्र र नेपाली नागरिकता आवश्यक पर्छ । विसं २०७६ वैशाख महीनादेखि उक्त सर्त लागू हुनेगरी ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरेको हो । वार्षिक बीमा शुल्कबापतको रु तीन हजार पाँच सय नेपाल सरकारले नै व्यहार्ने गरी ज्येष्ठ नागरिकहरुको बीमा गर्न लागेको हो । 

सरकारले दीर्घकालीन रोग लागेका एवं अति अशक्त मानिसको समेत निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरेको छ । अति अशक्त व्यक्तिको हकमा रातो कार्ड पाएको हुनुपर्ने छ भने दीर्घकालीन रोग एचआइभी एड्स, कुष्ठरोग, क्षयरोग लगायतका बिरामी तथा उनीहरुको आश्रित परिवारको निःशुल्क बीमा गर्न लागेको स्वास्थ्य बीमा तनहुँका दर्ता अधिकारी सङ्गम अर्यालले बताउनुभयो ।  

६ बर्ष अगाडि

प्रतिक्रिया