समुदायलाई बगैँचा हस्तान्तरण

६ बर्ष अगाडि

मुक्तिनाथ विकास बैङ्कले काठमाडौँ महानगरपालिका–१ स्थित कमलपोखरीमा रहेको महानगरीय प्रहरी वृत्त अगाडिको बगैँचा आज वडालाई हस्तान्तरण गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत बैङ्कले करीब रु आठ लाखको लागतमा एक महिनाका अवधिमा उक्त स्थानमा हरियाली फूल र बिरुवाले सजाएर बगैचा निर्माण गरेको हो । 

यहाँ आज आयोजित कार्यक्रममा बैङ्कका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले वडाध्यक्ष भरतलाल श्रेष्ठलाई बगैँचा हस्तान्तरण गर्दै आफ्नो संस्थाले वित्तीय कारोवारका साथै सामाजिक विकासका लागि आवश्यक स्थानीय पूर्वाधार तथा विकास निर्माणमा वडासँग समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  वडा नं १ का वडाध्यक्ष श्रेष्ठले पुरातात्विक महत्वका सांस्कृतिक सम्पदा तथा स्थानीय जात्रापर्वका संस्कृतिले धनी रहेको उक्त स्थानको पहिचानलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा प्रवद्र्धन गर्न वडाले विभिन्न गतिविधि गरिरहेको जानकारी दिनुभयो ।   

वृत्तका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले बढ्दै गइरहेको प्रदूषण न्यूनीकरण तथा वातावरण संरक्षणका लागि सडक तथा त्यस आसपास क्षेत्रमा हरियाली बगँैचाको महत्व हुने बताउनुभयो । उहाँले समुदाय–प्रहरीको साझेदारीमा शान्तिपूर्ण समाज निर्माण गर्न सकिने विचार व्यक्त गर्नुभयो । देशभर १०९ शाखा रहेको बैङ्कले रु ४६ अर्ब निक्षेप सङ्कलन तथा रु ३८ अर्ब लगानी गरेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया