स्वरोजगार बन्दै गृहिणी

६ बर्ष अगाडि

बाँके – बाँकेको डुडुवा गाउँपालिका–५ कम्दीका गृहिणी महिला मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममार्फत सीप सिकेर स्वरोजगार बन्न थालेका छन् । 

‘पहिला हातमा केही पनि सीप थिएन अहिले बेतका सामग्री बनाउन जान्ने भएका छौँ”, वडा नं– ५ छग्रहवा कम्दीकी पवि शाहीले भन्नुभयो,“बेतको फूलदानी, सानो र ठूलो मुढा, ¥याक बनाउन सिकेका छौं”, घरको कामबाहेक खाली समयमा यस्ता सामग्री बनाएर बेच्ने गरेका उहाँले सुनाउनुभयो । 

एक महीनासम्मको तालीम पश्चात आफू बेतका सामग्री निर्माण गर्नसक्ने भएको उहाँले जानकारी दिनुभयो । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत बेतका सामग्री बनाउने तालीममा कम्दीका ३७ गृहणी महिला सहभागी भएर सीप हासिल गरेको डुडुवा गाउँपालिका–५ का अध्यक्ष परशुराम बुढाथोकीले बताउनुभयो । 

उहाँले गृहिणी महिलाको लागि तालीम फलदायी भएको बताउँदै सीपलाई व्यवहारमा कार्यान्वयनको लागि आफूले वडाबाट आवश्यक सहयोग र समन्वय गरिदिने बताउनुभयो । 

तालीममा सिकेको सीपबाट आफ्नै गाउँ–घरमा चाहिने बेत–बाँसका सामग्री तयार पारी व्यावसायिक र स्वाबलम्बी बन्न सहयोग पुगेको स्थानीय कार्यक्रम सिफारिश एवं कार्यान्वयन समितिका सदस्य प्रेमकुमारी शाहीले बताउनुभयो । 

“बेरोजगार भएर भारत तथा खाडी मुलुकमा गएर दुःख गर्नु भन्दा त यहींँ यस्ता सीप सिकेर स्वरोजगार हुन तालीमले सहयोग पु¥याएको छ”, शाहीले भन्नुभयो, “शुरुमै कमाइ नभए पनि निरन्तर लाग्न सके कमाइ पनि गर्न सकिन्छ ।’
बाँस, बेतका सामग्री बनाउन चाहिने कच्चापदार्थ बर्दियाको राजापुरबाट ल्याउने व्यवस्था मिलाइएको छ । कच्चापदार्थ ल्याउन स्थानीय तहसँग समन्वय गरिएको छ । 

खाली समयमा सामग्री बनाएर आर्थिक रुपमा महिलाको जीवनस्तर उकास्न तालीम सहयोगी भएको प्रशिक्षक विकास डेमनडौराले बताउनुभयो । उहाँले सामग्री बनाउन चाहिने कच्चा पदार्थको व्यवस्थापनमा पनि सहयोग र समन्वय गरेको जानकारी दिनुभयो । रु दुई लाखको लागतमा तालीम सञ्चालन गरिएको कार्यक्रमका जिल्ला सहजकर्ता केशव चालिसेले बताउनुभयो । 

महिलाले तालीममा सिकेर बनाएका बेतका विभिन्न सामग्रीको बजारीकरण गर्न व्यापारीसँग समन्वय गरिएको छ । वडा नं ६ हिरमिनियामा पनि यस्तै किसिमको तालीम सञ्चालन गर्ने तयारी गरिएको छ । 

कार्यक्रमले गाउँपालिकाका अति गरीब, विपन्न र आर्थिक रुपले पछाडि परेका परिवारलाई प्रत्यक्ष सहयोग हुनेगरी कार्यक्रम सञ्चालन गरिएको सहजकर्ता चालिसेले जानकारी दिनुभयो । बाँकेको नरैनापुर, डुडुवा र जानकी गरी तीनवटा गाउँपालिकामा गत आर्थिक वर्षदेखि मुख्यमन्त्री ग्रामीण विकास परियोजना सञ्चालन भएको हो । यो वर्षदेखि अन्य गाउँपालिकामा पनि कार्यक्रम विस्तार हुने भएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया