सोमबार बिहान ११ बजेलाई बोलाइएको प्रतिनिधिसभा बैठक एक बजेसम्मका लागि सरेको छ। अपरान्ह १२ बजेका लागि सारिएको बैठक पुन: एक बजेसम्मका लागि सारिएको छ।
लामो समयदेखि अवरुद्ध रहँदै आएको प्रतिनिधिसभा बैठक सर्वदलीय सहमतिका लागि भन्दै पर सारिएको हो।
सभामुख कृष्णबहादुर महराका प्रेस संयोजक डिल्ली मल्लका अनुसार वानेश्वरस्थित संसद् भवनको शंकर हलमा सर्वदलीय बैठक आह्वान गरिएको छ। त्यही बैठकले संसद् बैठक अघि बढाउने कि नबढाउने निर्णय लिनेछ।
गत असार ५ गते सर्लाहीमा नेत्रविक्रम चन्द नेतृत्वको माओवादीका स्थानीय नेता कुमार पौडेल र असार १५ गते एक प्रदर्शनको क्रममा सरोजनारायण सिंहको प्रहरी गोलीबाट निधन भएको थियो।
उक्त घटनामा संसदीय छानविन समिति गठन गर्नुपर्ने भन्दै प्रतिपक्ष नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालले असार २४ गतेदेखि संसद् अवरुद्ध गर्दै आएका छन्।
तर, सत्तारुढ नेकपाले भने राज्य व्यवस्था समितिले छानविन गरिरहेकाले अर्को छुट्टै संसदीय समिति आवश्यक नभएको तर्क गर्दै आएको छ। जसमा सत्तारुढ र प्रतिपक्षी दलबीच सहमति हुन सकेको छैन।
प्रतिक्रिया