सडक बनाउन माग गर्दै ज्ञापनपत्र

६ बर्ष अगाडि

काठमाडौँको चावहिल–साँखु खण्डकोे सडक स्तरोन्नति गर्नुपर्ने माग राख्दै साँखुवासीले नगरप्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् । साँखु जोरपाटी शङ्खरापुर सडक सरोकार समितिद्वारा आज नगरपालिकाका उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठमार्फत् प्रमुख सुवर्ण श्रेष्ठ र कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापालाई पत्रमार्फत ध्यानाकर्षण गराइएको हो । 
    
चावहिल साँखु सडकखण्डको तत्काल स्तरोन्नति एवं बाटो सुधारको माग राख्दै जनप्रतिनिधिको ध्यानाकर्षणका लागि ज्ञापनपत्र बुझाइएको समितिका अध्यक्ष मिलन खड्काले बताउनुभयो । लामो समयदेखि शङ्खरापुरअन्तर्गत पर्ने चावहिल–साँखु सडकखण्ड र यसका शाखा सडक ज्यादै दयनीय एवं अस्तव्यस्त अवस्थामा रहेकाले सडकको सुधार गर्नुपर्ने मुख्य माग रहेको स्थानीयवासी बताउँछन् । 

पैदलयात्रु तथा सवारीसाधनलाई निकै कष्ट हुने सो सडकखण्डमा यात्रा गर्न निकै सास्ती खेप्नु गरेको यात्रुको गुनासो छ । समितिले तत्काल सडकको मर्मत तथा स्तोरन्तति गर्न ध्यानार्कषण गराउनलाई समितिनै गठन गरेर अगाडि बढेको जानकारी दिएको छ । 

साउन मसान्तभित्र मूल सडकसहित शाखा सडकको सुधार गर्न र सहज आवागमनको व्यवस्था मिलाउन राज्यका सम्बन्धित निकायमा पहल गर्नुपर्ने भन्दै ज्ञापनपत्र बुझाइएको समितिका सदस्य सन्तोष चौलागार्इंले जानकारी दिनुभयो ।

साउन मसान्तसम्म सडक सुधारका कार्य गर्न गराउन उल्लेखनीय भूमिकासहित फिल्ड अनुगमनमा नगए जनदबाबका लागि शृङ्खलावद्ध आन्दोलनका गतिविधि ल्याउन बाध्य हुने उहाँले बताउनुभयो । साथै प्रदेशसभा सदस्य मणिराम फँुयाल, सोही क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई समेत ध्यानाकर्षण गराउने कार्यक्रम रहेको समितिले जनाएको छ ।

सरकारले विसं २०७२ मा चावहिलबाट साँखुसम्म सडक २२ मिटर चौडा गरी चार लेनको बनाउने योजना ल्याएको थियो । योजनाअनुसार काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले विसं २०७२ जेठमा सडकखण्डको निर्माणका लागि बोलपत्र आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो  । कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले यो सडकको विस्तारको जिम्मा पाएका थिए । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया