झापा – झापामा भन्सार छलेर नेपाल भित्र्याउदै गरेको अवस्थामा एउटा फलफुल बोकेको ट्रकलाई स्थानीय युवाले नियन्त्रणमा लिएका छन् । भन्सार कर्मचारी र सशस्त्र प्रहरीको सेटिङमा भन्सार नतिरी उक्त फलफुल भुइकटर नेपाल भित्राइएको हो।
घटना विवरणअनुसार भद्रपुर भन्सार कार्यालयअगाडि सशस्त्र प्रहरी बल २ नम्बर गण झापाका असई अमर विक नेतृत्वको सशस्त्र प्रहरी टोली र भन्सारका सहायक कर्मचारीद्वय कृष्णप्रसाद निरौला र रामबहादुर थापा मंगलबार बेलुका ८ बजे खटिएका थिए। सोही समयमा भारतको गलगलिया नाकाबाट मेची पुल हुँदै भित्रिएको ना ५ ख ७३०७ नम्बरको ट्रकमा लोड गरिएको भुइकटर भद्रपुर भन्सार अगाडिबाटै सोजै बसपार्कतर्फ गइरहेको अवस्थामा स्थानीय युवा बिर्जु सहनीको समूहले नियन्त्रणमा लिएर आवश्यक कागजात माग गरेका थिए।
तर, ट्रक चालक अर्जुनधारा ५ बस्ने डिल्लीराम भट्टराईले भन्सार कागजात देखाउन नसकेपछि युवाले प्रहरी बोलाएर ट्रक जिम्मा लगाएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए। भन्सार अगाडिबाटै सामान लोड गरिएको ट्रक भित्रिनुमा खटिएका सशस्त्र प्रहरी र भन्सार कर्मचारीको मिलेमतो रहेको यसै घटनाले पुष्टि गर्दछ।
‘भन्सार छलेर सामान लोड गरिएको ट्रक व्यापारीले लैजान खोजेपछि युवाले ट्रक नियन्त्रणमा लिएको हो’, प्रहरी निरीक्षक श्रेष्ठले भने, ‘त्यसपछि प्रहरी घटनास्थल पुग्दा भन्सार कागजात ट्रक चालकसँग माग्दा देखाउन सकेन, कागजात नदेखाएपछि थप अनुसन्धानका लागि भुइकटर लोड गरिएको ट्रक नियन्त्रणमा लियौँ।’ ट्रकमा लोड गरिएको भुइकटर जे आर फुट्स भद्रपुरले बिर्तामोडको प्रिन्स फुट सेन्टरलाई बिक्री गरेको बिलमा उल्लेख गरिएको जनाइएको छ।अहिले उक्त ट्रक प्रहरीले भन्सार बुझाएको छ ।
अनुसन्धान मिडियाबाट
प्रतिक्रिया