काठमाडौं – डिल्लीबजार मालपोत कार्यालयले गत आर्थिक वर्ष २०७५÷०७६ को राजस्व संकलनमा ४ करोडले गिरावट आएको छ । आर्थिक वर्ष २०७४/०७५ को तुलनामा गत आवको राजस्व संकलनमा उक्त रकमले कमी आएको हो ।
मालपोत कार्यालयका अनुसार, आव २०७४/०७५ मा रु ३ अर्ब १९ करोड राजस्व उठेको थियो भने गत आवमा रु ३ अर्ब १५ करोड मात्र राजस्व संकलन भएको थियो । कार्यक्षेत्रभित्र पर्ने घर जग्गा खरिद बिक्रीबाट उक्त राजस्व संकलन भएको हो ।
अघिल्लो वर्षको तुलनामा जग्गा किनबेच, नामसारी, खरिदबिक्री र कित्ताकाटमा आएको कमीका कारण राजस्व सङ्कलनमा गिरावट आएको छ ।
यस कार्यालयमा काठमाडौं महानगरभित्रका मुख्य ३३ ओटा वडाका मालपोतसम्बन्धी, घरजग्गा नामसारी, खरीदबिक्री र किताकाटको काम यहीँबाट हुने गरेको छ ।
काठमाडौंको धेरै जसो वडाको काम यहाँबाट हुने हुँदा कार्यालयमा वडागत रुपमा तीन ओटा रेजिस्ट्रेसन विभागमा विभाजन गरी कसरी छिटो सेवा दिन सकिन्छ भनी व्यवस्थापन गरिएको छ ।
गत आर्थिक वर्षमा धेरै जसो मुद्दामामिला आएको र सरकारले केही समय जग्गा कित्ताकाटमा रोक लगाएकाले पनि राजस्व सङकलनमा कमि आएको बताइन्छ ।
काठमाडौंको मुख्य व्यापारिक केन्द्रदेखि आकर्षक जग्गा पनि यही कार्यालयको क्षेत्रभित्र पर्ने भएकाले अरु कार्यालयको भन्दा यहाँ राजस्व सङ्कलन बढी हुने छ ।
प्रतिक्रिया