काठमाडौं – देशको प्रधानमन्त्री भइसकेको व्यक्ति कुनै एउटा देशको राजदूतावासमा जान मिल्छ कि मिल्दैन । सामान्यतया सार्वजनिक कार्यक्रममा अथितिका रुपमा जानुलाई असामान्य मान्न सकिदैन । तर एउटा कर्मचारीको सम्मानका लागि पूर्व प्रधानमन्त्री ६ घन्टा दूतावासमा बस्नु, देशका भए नभएका कुरा गर्नु र राजनीतिमा पानी धमिलो पार्न खोज्नुलाई भने कुन अर्थमा लिन सकिएला ? राजनीतिक विश्लेषकहरु भन्छन् यो चरम लापरवाही मात्रै होइन ।
भारतीय खुफिया एजेन्सी रअका प्रमुख समान्तकुमार गोयल नेपाल भ्रमणमा आए र रअका प्रमुखका नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो । गोयलसँग भेटन प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारको गेटमा नै पुगेको भन्दै चर्चा चलेको छ । यस्तै नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्धानमन्त्री शेरबहादुर देउवा त दूतावासमा ६ घण्टा नै बसेका थिए ।
आफूलाई राष्ट्रवादको पगरी गुथाएर सत्तामा पुगेका ओलीले रअका प्रमुखको स्वागतका लागि प्रधानमन्त्री निवासको गेटमा नै पुग्नुले उनको राष्ट्रवादी ढ्वाङ समेत उदांगो भएको छ ।
भारतका एक कर्मचारी गोयललाई देशका कार्यकारी प्रमुख भइसकेका र हालका समेत प्रमुख कार्यकारी प्रधानमन्त्री केपी शर्मा ओलीले समेत गरी तीन जनाले भेट दिए । कूल पाँच सदस्यीय टोलीसहित नेपाल आएका गोयलले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सुरुमै भेटेका थिए । आपत्तिजनक त के छ भने प्रधानमन्त्री भइसकेका देउवाले आइतबार राति लैनचौरस्थित भारतीय दूतावासमै गएर गोयलसँग भेटघाट गरेको भन्दै चौतर्फी आलोचना भएको छ । । देउवाले दूतावासमा करिब ६ घन्टा बिताएका थिए । तर यो विषय आम रुपमा सार्वजनिक भइसक्दा समेत देउवाले त्यस्तो नभएको भन्दै लुकाएर राखेका छन् ।
आइतबार देउवा भेटेका गोयलले सोमबार बिहान पूर्व प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनकै निवास खुमलटारमा गएर भेटेको बताइन्छ । गोयलसँगको भेटघाट ‘गुपचुप’ बनाउन अधिकतम प्रयत्न गरिएको भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट सार्वजनिक भएको छ ।
भारत उड्नुअघि बालुवाटार पुगेका गोयलले ओलीसँग करिब एक घन्टा कुराकानी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । तर ओलीले हुँदै नभएको भन्दै लोकलाई नै ढाट्ने काम गरेका छन् ।
विदेशीहरुसँग गर्ने भेटघाटलाई कूटनीतिक आचारसंहिता अनुसार पारदर्शी बनाउने र त्यसलाई अभिलेखमा राख्ने गरेको भए नेताहरूको नियतमा शंका उब्जिएको छ । आफ्ना राजनीतिक भेटघाटलाई नेताहरूले गोप्य राख्नुभन्दा सार्वजनिक गर्ने गरेको भए मिडियादेखि समाजिक सञ्जालसम्ममा उनीहरुको नियतमा खोट औंल्याउँदै संशय जाहेर गर्नु नपर्ने भएपनि उनीहरुले नै लुकाएरु्र राखेका कारण आशंका जन्मिएको हो । तर पुर्व प्रधानमन्त्री भएका देउवाले राजदूतावासमा नै गएर भेट गर्नुलाई भने अर्थपूर्ण रुपमा लिइएको छ ।
प्रतिक्रिया