सप्तरी – सप्तरीमा सिँचाइको उचित व्यवस्था नभए पनि यस वर्ष समयमा वर्षा भएका कारण साउनको दोस्रो सतासम्ममा यहाँ ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।
जिल्लाको अधिकांश स्थानमा खेतीयोग्य जमीन भए पनि सिँचाइको अभाव र समयमा वर्षा नहुँदा र वर्षा भए पनि बाढीले अधिकांश ठाउँमा बालुवा र लेदो, खस्रो माटो जमीनमा भरेपछि यहाँका जमीन बाँझो रहेको पाइन्थ्यो । सप्तरीमा सिञ्चित ४० हजार र असिञ्चित ३० हजार गरी कूल ७० हजार हेक्टर खेतीयोग्य जमीन रहेको कृषि ज्ञान केन्द्र राजविराजले जनाएको छ ।
यस वर्ष असारको अन्तिम र साउनको पहिलो सातामा भारी वर्षा भएपछि अहिलेसम्म सप्तरी जिल्लामा ५९ हजार २०० हेक्टर जमीनमा धान रोपाइँ सम्पन्न भएको केन्द्रका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत भगिरथ यादवले जानकारी दिनुभयो ।
जिल्लामा रहेका तीन वटै सिँचाइ प्रणालीबाट पानीको व्यवस्था नभएपछि पम्पसेटका भरमा वर्षा हुनुपूर्व पनि किसानले धान रोपाइँ गरेका हुनाले अहिलेसम्म ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको अधिकृत यादवको भनाइ छ ।
जिल्लाको पूर्वी–दक्षिण क्षेत्रको केही जमीनमा सिँचाइ भए पनि पश्चिम र उत्तरी भेगका खेतीयोग्य जमीनहरु अझै बाँझै रहेको पाइएको उहाँले बताउनुभयो । साथै हालै आएको बाढीका कारण तीन हजार २०० हेक्टर जमीनमा बालुुवा भरिएकाले सो जमीनमा धान रोपाइँ हुन नसकेको उहाँले बताउनुभयो ।
त्यस्तै सप्तरीमा सिँचाइ सुविधा नहुँदा जिल्लाको वोदेवरसाइन, सारस्वर, पातो, वरही वीरपुर, फुलकाही, कोदरकट्टी, भुतही, मानराजा, खडकपुर, अर्नाहा, ब्रह्मपुर, कविलासा, मलहनियाँ, मलहनमा, हर्दिया कटैया, रामपुर जमुवा, मोहनपुरलगायत पश्चिम र उत्तर क्षेत्रका केही स्थानमा यस वर्ष भारी वर्षा भएकाले सुक्खा रहेका खेतमा बाढीले पर्याप्त मात्रमा पानी भरिएपछि सो क्षेत्रमा अहिले धान रोपाइँ सम्पन्न भएको केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।
सुक्खा खेत हलो जोतेर पानी पर्ने आशमा बसेका किसान असारको अन्तिम सातामा पानी परेपछि धान खेतीमा सहयोग मिलेको हनुमानगर कङ्कालनी नगरपालिका–१ का किसान बौवालाल माझीले बताउनुभयो।
यता कोशी पश्चिमी नहर, कोशी पम्प नहर र चन्द्र नहरमा पनि पर्याप्त पानी नभएका कारण तथा ती नहरहरुमा समयमा पानी नछाडिएका कारण समेत यहाँ धान रोपाइँ गर्न समस्या हुने गरेको कृषकले गुनासो गरेका छन् ।
प्रतिक्रिया