समाजवाद धेरैभन्दा धेरै जनता केन्द्रित भए गरिने क्रान्ति हो : अध्यक्ष प्रचण्ड‍

६ बर्ष अगाडि

ललितपुर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले समाजवाद धेरैभन्दा धेरै जनता केन्द्रित भएर गरिने क्रान्ति भएको बताउनुभएको छ ।

अध्यक्षले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन पाए हुन्थ्यो भन्नेमा प्रतिक्रियावादी रहेको बताउनुभयो । अध्यक्षले भन्नुभयो, ‘यो व्यवस्था नै उल्टियो भने नेपाल नै बर्बाद हुने खतरा छ ।’ जनता र राष्ट्रलाई माया गर्ने र परिवर्तनलाई रुचाउने सबै इमान्दार नेता तथा कार्यकर्ता एक ठाउँमा एकतावद्ध भएर यो व्यवस्थाको रक्षा गर्नुपर्ने अध्यक्षले बताउनुभयो ।

सोमबार अध्यक्ष निवास खुमल्टारमा विप्लव समुह परित्याग गरी नेकपामा प्रवेश गर्ने सो समुहका ब्यूरो सदस्य तथा बारा जिल्लाका पूर्व सचिव रमण घिमिरे लगायतका नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गर्दै यस्तो बताउनुभएको हो ।अध्यक्षले भन्नुभयो, ‘संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउने नेताहरु विरुद्ध षडयन्त्र र प्रचार गरेर सिध्याइयो भने व्यवस्था पनि सिध्याउन सकिन्छ भन्नेमा प्रतिक्रियावादी रहेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र रहँदासम्म आफूहरु कोही पनि कमजोर नहुने उहाँको भनाई थियो ।

अध्यक्षले भन्नुभयो, ‘हामीले खोजेको यो भन्दा धेरै थियो, अहिलेको देश, विश्व र शक्ति सन्तुलनले गर्दा प्राप्त उपलब्धीमा टेकेर अगाडि जाने भनेर आएको हो ।’ अध्यक्षले क्रान्ति दुर्इचार जनाको रहरले हुने कुरा नभएको बताउनुभयो । अध्यक्षले पार्टीमा प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरुलाई उचित जिम्मेवारी दिने बताउनुभयो । नवप्रवेशी नेता रमण घिमिरेले आफूले बाटो बिराएको महशुस भएपछि विप्लव समुह परित्याग गरेको बताउनुभयो ।

उक्त कार्यक्रममा विप्लव समुह परित्याग गरी रमण घिमिरे, आवास मन्सुरी,सुरेश कुमार यादव, विनोद केसी, सुवास तिवारी,राजकुमार केसी खत्री , सन्दिपकुमार कार्की,नमराज शर्मा लगायतका नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेका हुन ।

६ बर्ष अगाडि

प्रतिक्रिया