लापरवाही गर्ने ठेकेदारहरुको विवरण पठाउन गृहमन्त्रालयको परिपत्र

८ बर्ष अगाडि

    काठमाडौँः गृहमन्त्री रामबहादुर थापा‘बादल’को निर्देशनपछि आज गृहमन्त्रालयले भवन, सडक तथा पुल निर्माणको ठेक्का लिएर लापरवाहीढंगले काम गर्र्नेे कम्पनी र ठेकेदारहरुको सूचि बनाएर एक हप्ताभित्र पठाउन देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ ।
    निर्माणको ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने तथा सम्पन्न गरेका कामहरु पनि कमसल हुने गरेको गुनासो बढ्दै गएपछि बिहिबार बिभिन्न मन्त्रालयका पदाधिकारी सहितको बैठकमा गृहमन्त्रीले यस्तो सूचि बनाउन निर्देशन दिनुभएको थियो । 
    गृहमन्त्री बादलको निर्देशन अनुरुप आज गृह मन्त्रालयले ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीहरुलाई पठाएको परिपत्रमा भनिएको छ, ‘‘ जिल्लास्तरमा सञ्चालित विकास निर्माण , सबै आयोजना, परियोजनाको अनुगमन गरी विवरण संकलन गर्ने, समयमै कार्य सम्पन्न नगर्ने फर्म, ठेकेदारको ठेगाना, सम्पर्क नम्बर समेतका विवरण एक हप्ता भित्र तयार गरी मन्त्रालयमा सफ्ट कपी सहित पठाउने । ’’
    गृहमन्त्रालयले यस्तो सूचि आईसकेपछि उनिहरुमाथि कारवाही गर्ने तयारी गरेको छ । 
    गृहमन्त्री थापाले त्यस्ता कम्पनी, ठेकेदारलाई समयसिमा दिएर काम सम्पन्न गर्न समय दिने र सो अवधीमा काम सम्पन्न नगरे पक्राउ गर्न बिहिबारको बैठकमा निर्देशन दिनुभएको थियो ।
ट्राफिक नियममा कडाई सुरु
    बिहिबारको बैठकमा गृहमन्त्री बादलले सवारी दुर्घटना न्युनिकरण र ट्राफिक नियमको पालनाका लागि कडाईका साथ लाग्न ट्राफिक प्रहरीलाई निर्देशन दिए लगत्तै ट्राफिक नियममा आजदेखि कडाई सुरु भएको छ ।
    काठमाडौँ उपत्यकामा आजदेखिनै तीन पाङ्ग्रे टेम्पुहरुमा सिट संख्या भन्दा बढी यात्रु राख्न नपाईने व्यवस्था कडाईका साथ लागु गरीएको छ ।
    आगामी आईतबार देखि माईक्रोमा समेत सिट संख्या भन्दा बढी यात्रु राख्न नपाउने व्यवस्थालाई कडाईपूर्वक लागु गर्न लागिएको महानगरी ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
    यस्तै मिटरमा चल्न नमान्ने ट्याक्सी र मिटर जडान नगरेको ट्याक्सीलाई समेत ट्राफिकले कारवाही सुरु गरेको छ ।
    मिटर जोड्न बाँकी रहेका ट्याक्सीको विवरण गुणस्तर विभागबाट आजै ट्राफिक महाशाखाले मगाएको छ । त्यस्ता ट्याक्सीलाई कारवाही गर्ने तयारी महाशाखाले गरेको छ ।
ट्राफिक जरिवाना बढ्दै 
    ट्राफिक नियम उलङ्घन गर्दा तिराईने जरिबाना कम रहेको कारण सवारी चालकले ट्राफिक नियम उलङ्घन बढी गर्ने गरेकोे गुनासो बिहिबारको बैठकका सहभागीहरुले गरेपछि गृहमन्त्री बादलले आवश्यकता अनुसार जरिबाना शुल्क समेत बढाउन निर्देशन दिनुभएको थियो ।
    हाल ट्राफिक नियम उलङ्घन गर्दा रु पाँच सय देखि रु एक हजार सम्म मात्रै जरिवाना रहेकोमा यसलाई बढाएर रु तीन हजार देखि पाँच हजार सम्म पु¥याउने प्रक्रिया यातायात व्यवस्था विभागले सुरु गरेको छ ।
    ट्राफिक नियमलाई कडाई गर्न सके सवारी जामको समस्या र दुर्घटनाको घटनामा उल्लेख्य कमी आउने ठहर सहित ट्राफिक जरिवाना बढाउन लागिएको हो ।
सिंहदरबारभित्र निश्चित ठाउँमा मात्रै पार्किङ
    सिंहदरबारभित्र जथाभावी सवारी पार्किङका कारण कुरुप देखिएपछि अब निश्चित ठाउँमा मात्रै सवारी पार्किङको व्यवस्था गर्न लागिएको छ ।
    यसका लागि सिंहदरबारभित्र पार्किङका लागि उपयुक्त स्थानहरुको खोजि भईरहेको छ । पार्किङस्थलको पहिचान भए लगत्तै मन्त्री बाहेक अन्यको गाडी पार्किङस्थलमा मात्रै राख्ने गरी आवश्यक तयारी भईरहेको छ ।–––

८ बर्ष अगाडि

प्रतिक्रिया