काठमाडौं–असार अन्तिम साता परेको अविरल वर्षापछि आएको बाढीपहिरोबाट प्रदेश नम्बर २ का विभिन्न जिल्लामा कृषि र पशुपक्षीतर्फ व्यापक क्षति पुगेको छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार प्रदेश नम्बर २ का ७ जिल्लामा पशुपछी करीब १ अर्ब ६२ करोड क्षति भएको छ ।
यस्तै बालीतर्फ करीब १ अर्ब ९७ करोड बराबरको क्षति भएको छ । मन्त्रालयले क्षतिबारे थप विवरण आउन बाँकी रहेको भन्दै विस्तृत विवरणका लागि सम्बन्धित स्थानीय तहलाई पत्राचार भइसकेको जनाएको छ ।
बाढी तथा डुबानबाट चैते धान, बर्षे धान, धानको ब्याड, मकै, तरकारी र केरा खेतीमा क्षति पुगेको छ भने भैंसी , गाई, हाँस, कुखुरा, वाख्रा, माछा लगायतका पशुजन्य बस्तुहरुमा पनि क्षति भएको छ ।
मन्त्रालयले कृषितर्फ र पशुपक्षीतर्फ कूल तीन अर्ब ५९ करोड रुपैयाँ क्षति भएको जनाएको छ ।
बाढीबाट सबैभन्दा बढी क्षति रौतहटमा पुगेको छ । रौतहटमा ५०० गाई, भैंसी र गोरु, ५०० बाख्रा, ५० हजार कुखुरा र १५हजार हाँस कुल ६६ हजार २२ पशुपक्षी परेका छन् । यस्तै पराल, भुस, दानाका साथै खोर दानामा पनि क्षति पुगेको छ । रौतहटमा बाढीबाट ३५ करोडको क्षति भएको छ ।
यसैगरी बारा र पर्सामा बाढीबाट १ करोडको क्षति पुगेको छ । जसमा २४ वटा बाख्रा र १३० वटा गोठ, खोर र आहारामा क्षति पुगेको छ ।
यसैगरी सिरहा र सप्तरीमा कुखुरा १० हजार ५००, हाँस १५ सय, गाई २२५, भैसी ११० बाख्रा ५ सय गरी कुल १७ हजार ३३५ वटा पशुपक्षी बाढीमा मरेका छन् । सर्लाही र सिरहा जिल्लामा ९७ करोड ३० लाखको क्षति भएको छ ।
यसैगरी धनुषामा गाई १०, भैसी १५, बाख्रा ५० र कुखुरा ५०० वटा गरी कुल ५७५ वटा मृत्यु भएको छ । यो जिल्लामा १५ करोडको क्षति भएको छ ।
यसैगरी सर्लाहीमा ५ करोडको क्षति हुँदा महोत्तरीको क्षतिको विवरण भने आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ । महोत्तरीको विवरण आउन बाँकी रहँदा प्रदेश नम्बर २ का जिल्लामा ८९ हजार २८९ पशुपक्षी मरेका छन् । ती जिल्लामा २२ सय ३० माछापोखरीमा पनि क्षति पुगेको छ ।
७७ हजार ३४ हेक्टर कृषियोग्य भूमि बाढीले खायो
बाढी तथा डुबानबाट ७७ हजार ३४ हेक्टर खोतीयोग्य भूमिमा क्षति भएको छ । बाढी पसेका ती कृषियोग्य भूमिमा धानको ब्याड, तरकारी र मकैबालीका साथै वर्षे धान र चैत धान समेत लगाइएको थियो ।
जहाँ
पर्सामा कृषितर्फ ४४ करोड ८८ लाखको क्षति भएको छ । यस्तै बारामा ५० करोड, रौतहटमा ३५ करोड, सर्लाहीमा ८ करोड, ५ करोड, धुनषामा २० करोड, सप्तरीमा ३० करोड, सिरहामा ७ करोडको क्षति पुगेको छ ।
यस्तै पर्सामा १७ सय ४१ हेक्टर, बारामा ५० हजार ३००, रौतहटमा १९ सय ४६५, सर्लाहीमा ४००, महोत्तरीमा २२८, धनुषामा १ हजार, सप्तरीमा ३२ सय र सिरहाको ७०० हेक्टर कृषियोग्य भूमिमा क्षति पुगेको छ।
बाढीको कारण
तराईका जिल्लामा बाढी आउनुमा चुरेको एकीकृत र दीर्घकालीन योजना अभाव मुख्य कारक रहेको संसदको राज्यव्यवस्था तथा सुशासन समितिले गठन गरेको उपसमितिले जनाएको छ ।
सो उपसमितिले तयार गरेको प्रतिवेदनमा अस्वाभाविक रुपमा एकैचोटी ठूलो बाढी आउने र बाढीसँगै ढुङ्गा, गिटी, बालुवा बगाई उर्वरा भूमिमा पुगेर थुप्रिने गरेको उल्लेख गरिएको छ। नदी तथा खोलाको ढुङ्गा, गिटी, बालुवा उत्खनन् गर्दा वैज्ञानिक रुपमा नगरिएको विषयलाई पनि औंल्याइएको छ। बाढी तथा डुवानबाट जोगिनका लागि पूर्वतयारी तथा पूर्व सूचनाको समन्वय नभएको पनि प्रतिवेदनले औंल्याएको छ ।
समितिले क्षति बेहोरेका परिवारलाई राहत तथा पुनस्र्थापनाको लागि पनि सुझावहरु प्रस्तुत गरेको छ । साथै बाढी रोकथाम गर्न सरकारलाई नीतिगत सुझाव पनि प्रस्तुत गरेको छ ।
प्रतिक्रिया