काठमाडौं – नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । आज सार्वजनिक हुन लागेको मौद्रिक नीति गभर्नर डा चिरन्जिवी नेपालको अन्तिम मौद्रिक नीति हो ।विसं २०७१ साल चैतमा राष्ट्र बैंकको गभर्नर भएका नेपालले पहिलो मौद्रिक नीति मार्फत नै बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजी ४ देखि २५ गुणासम्मले बढाएका थिए ।
५ वर्षे कार्यकाल सकिएपछि गभर्नर नेपाल चैतबाट अवकास पाउने छन् । त्यसपछि राष्ट्र बैंकमा नयाँ नेतृत्व आउने छ ।पहिलो मौद्रिक नीतिमा चुक्ता पूँजी वढाएको कारण विकास बैंक र फाइनान्स कम्पनीको संख्या दुईतिहाईले नै घट्यो । वाणिज्य बैंकको हकमा भने चुक्ता पूँजी बढेपछि दुईवटा बैंक मात्र मर्जर भए ।
चुक्ता पूँजी बढाएपछि गभर्नर नेपालले वाणिज्य बैंकको संख्या घटाउनको लागि बिग मर्जरको सुरुवात गर्न चाहन्छन् । मौद्रिक नीति आउनु अगाडि नै बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई बोलाएर मर्जरको प्रतिबद्धता जनाउन निर्देशन दिए । राष्ट्र बैंकको आशय बुझेर ग्लोबल आइएमई बैंक र जनता बैंक मर्जरमा जाने सम्झौता गरे । अन्य केही बैंकले मर्जरको लागि पार्टनर खोज्दै गभर्नरको नेपालले ल्याउने मौद्रिक नीति कुरेका छन् ।
बजेटमा उल्लेख भए अनुसार गभर्नर नेपालले बिग मर्जरको नीति भने मौद्रिक नीतिमा लिनेछन् । कस्ता खाले सुविधा दिने त्यो अझै टुंगो लागेको छैन । यसबाहेक सरकारले लिएको आर्थिक बृद्धिलाई सहयोग हुने गरेर राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने छ ।
प्रतिक्रिया