ओखलढुुंगा– ओखलढुंगा जिल्लामा किसान ठगी गर्ने एक सरकारी कर्मचारीलाई ६ महिना कैद र २० हजार रुपैंयाँ जरीवनाको फैसला सुनाइएको छ । जिल्ला कृषि विकास कार्यालय ओखलढुंगा अन्र्तगत खिजीफलाटे कृषि सेवा केन्द्रका तत्कालीन प्रमुख सिंहेश्वर महतोलाई जिल्ला अदालत ओखलढुंगाले कृषकलाई ठगी गरेको अभियोगमा ६ महिना कैद र २० हजार रुपैंया जरीवनाको फैसला सुनाएको हो ।
महतोले कृषकसँग विभिन्न बहानामा धोका दिइ ठगि गरेको ठहर गर्दै जिल्ला न्यायाधीश कैलाश केसीको एकल इजलाशले उक्त फैसला सुनाएको हो ।
सेवा केन्द्रमा कार्यरत रहँदा अलैची खेति गर्ने कृषकहरुलाई तालिम सञ्चालन गर्ने भनि कृषि वन तथा वातारण समितिबाट १० हजार, तरकारी खेतिका लागि योजना पारि दिने बहानामा विभिन्न व्यक्तिसँग २ हजारका दरले १० हजार रुपौयाँ गरी जम्मा २० हजार रुपौयाँ लिएको देखिएकाले मुलुकी ऐन अन्तरगत ठगी महलको ४ नम्बर अनुसार ६ महिना कैद र विगो अनुसार जरिवाना हुने फैसला भएको जिल्ला अदालत ओखलढुंगाका श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए ।
महतोले आफु कार्यालय प्रमुख रहँदा शान्तबहादुर तामाङसँग २ हजार, अर्जुन वस्नेतसँग २ हजार, सोमबहादुर तामाङसँग २ हजार र मानबहादुर खड्कासँग ४ हजार र तत्कालीन रावादोलु कृषि वन तथा वातावरण समितिबाट १० हजार गरी २० हजार रकम असुलेका थिए ।
कृषकहरुले आफुहरुलाई धोका दिइ प्रलोभनमा परि ठगी गरेको भन्दै २०७३ साल भदौ २१ गते मुद्दा गराएका थिए । सोही अनुसार जिल्ला अदालत ओखलढुंगाले उक्त मुद्दामा सुनुवाइ गर्दै माघ १७ गते सो फैसला गरेको हो । महतो हाल सप्तरी जिल्लामा कार्यरत रहेका छन् ।
प्रतिक्रिया