काठमाडौँ । भारतमा प्रधानमन्त्रीमा निर्वाचित भए लगत्तै नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तत्कालनि संविधानसभाको(संसद) बैठकमा सगौरव घोषाण गरे, भारतबाट नेपालमा फोन गर्दा लाग्ने महंगो शुल्क तत्काल घट्छ ।
उनको समर्थनमा तत्कालीन संविधानसभाका सदस्यले मच्ची मच्ची टेबल ठोके र मोदीको समर्थन जनाए । भारतमा रोजगारीको खोजीमा पुगेका नेपालीको संख्या ३० लाखको हाराहारीमा छ ।
नेपालका लागि आकर्षक गन्तव्य पनि भारत बनेको छ । मध्य पश्चिम र सुदूरपश्चिममा धेरै जसो युवा रोजगारीको खोजीमा भारत पुग्ने गरेका छन् । नेपालका अन्य क्षेत्रका नागरिक पनि रोजगारीको लागि भारतका विभिन्न शहरमा कार्यरत छन् ।
उनीहरुले घर परिवारमा सम्पर्क गर्न असाध्यै गाह्रो हुने गरेको छ । मोदीले संविधानसभामा व्यक्त गरेको प्रतिवद्धता व्यवहारिक रुपमा लागू हुन सकेन । भारतबाट नेपालमाम फोन गर्दा मोबाइलबाट गर्दा प्रतिमिनेट १२ रुपैयाँ भारतीय मुद्रा लाग्ने गरेको छ भने ल्याण्ड लाइनबाट गर्दा १० रुपैयाँ भारतीय मुद्रा लाग्ने गरेको छ ।
संविधानसभामा सम्बोधन गर्दै मोदीले भारतबाट नेपाल फोन गर्दा लाग्ने शुल्क घटाउने वाचा गरेका थिए । पु्नः मोदी तेस्रो पटक नेपाल भ्रमणमा आउन लागेका छन् । तर यस विषयमा कही कतै पनि चर्चा भएको पाइएको छैन । गत चैत २३ देखि २५ गतेसम्म प्रधानमन्त्री केपी ओलीले भारतको भ्रमण गरे । सो भ्रमणमा समेत टेलिफोन शुल्कका बारेमा कुनै कुराकानी भएन ।
भारतमा रोजगारी गरिरहेका, अध्ययनमा गएका विद्यार्थीका अनुसार अहिले पनि भारतबाट नेपाल फोन गर्दा ८ देखि १२ भारुकै पुरानै दर रहेको छ । त्यसलाई घटाउने भनेर उनले दिएको वाचा पूरा हुन सकेकोक छैन ।
नेपालबाट भारतमा फोन गर्दा प्रतिमिनेट अधिकतम साढे २ रुपैयाँमात्रै लाग्ने गरेको छ । फोन शुल्क घटाउने बारे यस पटकको भ्रमणमा कुरा होला त ? भन्ने प्रश्नमा सञ्चार मन्त्रालयका एक अधिकारी भन्छन्, कार्यसूचीमा नै सो एजेण्डा छैन, कसरी होला कुरा ? उनले उल्टै प्रतिप्रश्न गरे ।
नेपाल टेलिकमले समेत टेलिफोन महसुलका बारेमा कुनै कुराकानी हुने बारेमा आफूहरुलाई कुनै जानकारी नभएको जनाएको छ ।
प्रतिक्रिया