काठमाडौँ । सरकारले यातायात क्षेत्रलाई व्यवस्थित, प्रभावकारी र जनमैत्री बनाउने लक्ष्यका साथ कम भाडा प्रस्ताव गर्ने कम्पनीलाई रुट इजाजत दिने भएको छ ।
बढी सेवा सुविधा दिने र कम भाडा दर प्रस्ताव गर्नेलाई रुट इजाजत दिने तयारी गरिएको हो । यात्रुलाई मनलाग्दी भाडा लिने गरेको, बढी यात्रु भीड हुने समयमा जबरजस्तै कोच्ने गरेको , सानो सवारीमा समेत धेरै यात्रु राख्ने गरेको तथा काठमाडौँको सवारी यात्रा कष्टकर भएकाले त्यसलाई नियन्त्रण र नियमन गर्ने लक्ष्यका साथ कम भाडा दर प्रस्ताव गर्ने यातायउात कम्पनी तथा सवारी धनीलाई मात्रै रुट इजाजत दिने तयारी गरिएको हो ।
यातायात व्यवस्था विभागले गरेको तयारी अनुसार अब कुनै पनि रुटमा मनलाग्दी इजाजत दिइने छैन । उनीहरुले प्रदान गर्ने सेवा तथा सुविधाका आधारमा मात्रै रुट इजाजत दिने तयारी गरिएको छ ।
प्रतिस्पर्धाका आधारमा मात्र रुट इजाजत दिने गरी तयारी गरिएको विभागले जनाएको छ । कम भाडा दर प्रस्ताव गर्ने, बढी भन्दा बढी सेवा दिने तथा यात्रु मैत्री व्यवहार गर्ने यातायात कम्पनीबीच प्रतिस्पर्धा गराउने योजना विभाग लागेको छ ।
गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले कम्पनीबीच प्रतिस्पर्धा गराउन विभागलाई पत्राचार गरेको छ । कुने पनि सवारीले यात्रुसँग बढी भाडा लिन नपाउनु, भेडा बाख्रो कोचे जसरी यात्रु कोचेर लैजान नपाउन् भन्ने ध्येयका साथ प्रतिस्पर्धा गराउन लागिएको जनाइएको छ ।
बढी सुविधा दिने र कम भाडा तोक्ने कम्पनीलाई रुट इजाजत दिए पनि एकै रुटमा एक भन्दा बढी कम्पनी तथा तिनका सवारीलाई रुट इजाजत दिने तयारी गरिएको छ । एकै रुटमा एउटालाई मात्रै इजाजत दिदा अर्को खालका सिण्डिकेट पुनः कायम रहने भन्दै विभागले एक भन्दा बढी कम्पनीलाई रुट इजाजत दिन लागिएको हो ।
यातायात व्यवस्था विभागमा निर्देशक तुलसीराम अर्यालले अब प्रतिस्पर्धाका आधारमा कम भाडा लिने र बढी सुविधा दिनेलाई रुट इजाजत दिने तयारी गरिएको बताए । उनले भने अब मनलाग्दी तवरले कुनै पनि रुटमा कोही कसैले पनि सवारी साधन चलाउन पाउने छैनन्, सबै रुटमा सरकारले प्रतिस्पर्धात्मक प्रणालीलाई विशेष रणनीतिका साथ लागू गर्छ ।
रातको समयमा बढी भाडा लिन सकिने
राती आठ बजेपछि काठमाडौँ उपत्यकामा सवारी चलाउने कम्पनीलाई दिउँसको भन्दा केही प्रतिशत मात्रै बढी भाडा लिन पाउने गरी प्रतिस्पर्धा गर्न लागिएको हो । दिउँसो न्यूनतम भाडा रु १३ रहेको जस्तै रातको समयमा न्यूनतम भाडा रु १५ वा यस्तै कायम गरी भाडा दर समेत तय गरिने छ । रातको समयमा काठमाडौँ उपत्यकामा सवारी नपाएर यात्रु महंगो रकम तिरेर ट्याक्सीमा यात्रा गर्नुपर्ने अवस्थाको अन्तय गर्न सो रणनीति अगाडि सारिएको हो ।
रातको समयमा प्रमुख रुटहरुमा सवारी चलाउनुपर्नेछ । त्यसका लागि निर्देशिका समेत बनाइनेछ । यात्रुलाई सहज र सरल रुपमा सेवा दिन तयार हुने कम्पनीलाई मात्रै रुट इजाजत दिने, उनीहरुको गतिविधिको समेत सुक्षम अध्ययन तथा अनुसन्धान गरिनेछ ।
रातको समयमा सवारीमा नै लुटपाट तथा चोरी हुने अवस्थालाई समेत ख्याल गरिनेछ ।
प्रतिक्रिया