काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यही वैशाख २८ र २९ गते दुई दिने नेपाल भ्रमण गर्न लागेका छन् । संविधान जारी भएपछि भारतले नेपाल माथि लगाएको नाकाबन्दीको पीडा नेपाली जनताले हालसम्म भूलेका छैनन् ।
तर पनि उच्चस्तरको राजनीतिक भ्रमण भएकाले सरकारले गतिलो सुरक्षा प्रबन्ध गर्नु जरुरी हुन्छ । सरकारको तर्फबाट आवश्यक सुरक्षाको व्यवस्था गरिएको जिकिर गरिएको छ ।
मोदीको नेपाल भ्रमणलाई लिएर जनकपुर, काठमाडौँ र मुस्ताङको सुरक्षा व्यवस्था कडा पारिएको सरकारको दावी गरिदै गर्दा केही स्थानमा भने नेपालीले समेत हैरानी र परेसानी भोग्नु परेको छ ।
वैशाख २८ र २९ गते बेनी–जोमसोम सडक र मनाङको सिमाना थोराङ पास बन्द गर्ने सूचना जारी गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्रको महत्वपूर्ण पदयात्रा मार्गको रुपमा परिचित सो क्षेत्रमा आवागमन नै बन्द गरेर नागरिकको स्वतन्त्र पूर्वक हिलडडुल गर्न पाउने अधिकार समेत खोसिएको छ ।
विदेशी उच्चस्तरका पाहुनालाई सुरक्षाको प्रबन्ध गर्ने नाममा नेपाली तथा विदेशी नागरिकलाई दुःख दिइनु गलत रहेको भन्दै सरोकार भएका पक्षले गुनासो गरेका छन् ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले मुस्ताङको मार्फादेखि कागबेनीसम्मका होटलमा दैनिक पाहुनाको विवरण लिने काम गरिएको बताए ।
यातायात आवागमनमा समेत रोक लगाइएको छ । मुस्ताङ आउने यात्रु तथा विदेशी नागरिकको समेत लगत राखेर आतंकति बनाउने काम भएको अन्नपूर्ण संरषण क्षेत्रमा रहेका एक पर्यटन व्यवसायीले बताए ।
ती व्यवसायीकाअनुसार मनाङ र मुस्ताङमा मोदीको नाममा अघोषित कफ्र्यू जस्तै लगाइएको छ ।
प्रमुख जिल्ला अधिकारी पौडेलले दैनिकरुपमा सुरक्षा समितिको बैठक बसेको र सरकारको निर्देशनअनुसार सुरक्षा व्यवस्था कडा पारिएको दावी गरे । उनले पर्यटन व्यवसायीले लगाएको कफ्र्यू जस्ता विषयमा भने उनले केही बताउन चाहेनन् । उच्च विशिवष्ठ पाहुनालाई सुरक्षा दिनु हाम्रो कर्तव्य भएकाले नेपाली नागरिक तथा विदेशी पदयात्रामा आएका नागरिकलाई केही समस्या परेको हुन सक्छ, प्रजिअ पौडेलले बताएका छन् ।

नेपालको दुईदिने राजकीय भ्रमणमा आउनुहुने प्रधानमन्त्री मोदी वैशाख २९ गते मुक्तिनाथ पुग्ने कार्यक्रम छ । उनको सम्मानमा मुस्ताङवासीले मुक्तिनाथमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय भएको जिल्ला स्तरीय स्वागत समितिका सहसंयोजक एवं बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष इन्द्रधारा विष्टले बताए ।
हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको धरोहर मुक्तिनाथमा आउने उहाँ नै उच्च विदेशी पाहुना हुनुहुन्छ, यसले मुक्तिनाथको प्रचार विश्वव्यापी हुनेछ उनले दावी गरे । अन्नपूर्ण संरक्षण क्षेत्रमा पुग्ने विदेशी पर्यटकले नेपालको प्रचार गरेकै छन्, उनीहरुले आर्कषक पर्यटकीय गन्तव्यका रुपमा मुस्ताङ तथा मनाङलाई प्रचार गरेकै छन् तर मोदीको नाममा नेपाली तथा विदेशी नागरिकलाई आवात जावत नै बन्द गरिनु दुःखद र मौीलक अधिकारको समेत हनन भएको स्थानीयको समेत भनाइ छ ।
मोदीलाई मुक्तिनाथ क्षेत्रको मौलिक कला संस्कृति देखाउने तयारीसमेत भइरहेको विष्टले बताए । “तर, यी कुराहरू उहाँको समयअनुसार हुन्छ, हामीले तयारी भने गरेका छौँ”, विष्टको भनाइ छ ।
काठमाडौँबाट हेलिकोप्टरमा आउने मोदीको विशेष पूजाका लागि मुक्तिनाथ मन्दिरको मर्मत र रंगरोगन, अतिविशिष्ट कक्ष तयार, १०८ धारा, शौचालयको सरसफाइ र हेलिप्याड निर्माण गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । मोदीको स्वागतका लागि मुक्तिनाथ गाउँ र मन्दिर प्रवेशद्वारमा विशेष गेट बनाइएका छन् ।
वैशाख २९ गते हेलिकोप्टरबाट मुक्तिनाथ ओर्लेपछि मोदीले एक घण्टा विशेष पूजापाठ गर्नेछन् । पूजापाठ अघि नै उहाँलाई नागरिक अभिनन्दनको तयारी गरिएको छ । उच्च विदेशी पाहुना आउने भएपछि मुस्ताङ र म्याग्दीको सिमाना घाँसा, मनाङको थोराङ पासमा सुरक्षा गस्ती बढाइएको छ ।
मन्दिरमा विशिष्ट पाहुना आउँदा पूजापाठका लागि गरिने सम्पूर्ण प्रक्रियाको तयारी पूरा भएको मुक्तिनाथका मुख्य पुजारी कृष्णप्रसाद सुवेदीले बताए ।
मोदी आउन अझै तीन दिन बाँकी रहेको भएपनि अघोािषत कफ्र्यू जस्तै लगाएर नेपाली तथा विदेशी नागरिकलाई दुःख दिइनु गलत भएको जानकारहरुको भनाइ छ ।
प्रतिक्रिया