पूर्वका दुई बैंक एक आपसमा गाँभिदै, कति हुनेछ चुक्ता पूँजी ?

६ बर्ष अगाडि

काठमाडौं –  पूर्वका सप्तकोशी डेभलपमेन्ट बैंक र काबेली विकास बैंकले यही असार २२ गते मर्जर प्रक्रिया पूरा गर्ने भएका छन् ।

प्रदेश १ को सबैभन्दा ठूलो विकास बैंक हुने लक्ष्यका साथ सप्तकोशी र काबेलीबीच मर्जर हुन लागेको हो । साउनदेखि दुबै बैंकले एकीकृत कारोबार गर्ने गरी मर्जर गर्ने समझदारी भएको थियो ।

तर असार २२मै मर्जर प्रकृया टुंगिनेछ । मर्जरपछि बन्ने बैंकको नाम सप्तकोशी डेभलपमेन्ट बैंक नै हुनेछ । मर्जरपछि बैंकको केन्द्रीय कार्यालय धनकुटा र कर्पोरेट कार्यालय विराटनगरमा राखिनेछ ।

सुरुमा मोरङ, इलाम र पाँचथर कार्यक्षेत्र रहेको सप्तकोशीको स्थापना ०६९ मा गरिएको थियो। गत मङ्सिर देखि यसको कार्यक्षेत्र विस्तार भएर झापा र सुनसरीसम्म पुगेको थियो ।

सप्तकोशीको हाल १८ शाखा छन् । यसको चुक्तापूँजी रु ५२ करोड ३७ लाख छ  । त्यस्तै २०६५ सालमा धनकुटामा खुलेको काबेलीको कार्यक्षेत्र धनकुटा र तेह्रथुम जिल्ला हो । काबेलीले यसअघि तेह्रथुमको माउन्ट मकालु विकास बैंकसित मर्जर गरेको थियो । यसका हाल ७ शाखा छन् । यसको चुक्ता पूँजी २८ करोड ४३ लाख रुपैयाँ छ ।

मर्जरपछि बैंकको चुक्तापूँजी रु ८१ करोड पुग्ने छ । नेपाल राष्ट्र बैंकले प्रादेशिक स्तरको बैंक हुन रु १ अर्ब २० करोड चुक्ता पूँजी चाहिने भएकाले बैंकले हकप्रद र बोनस शेयर मार्फत पूँजी वृद्धि गर्ने छ ।  मर्जरपछि बैंकले दुई वर्षभित्र प्रदेश नम्बर १ का १४ वटै जिल्ला र सबै स्थानीय तहमा शाखा खोल्ने लक्ष्य लिएको छ ।                           

मर्जर लगत्तै प्रदेश नम्बर १ मा केन्द्रीय कार्यालय भएको विकास बैंकमा सबैभन्दा धेरै जिल्ला र शाखामा कार्यक्षेत्र भएको बैंक हुने छ ।

मर्जरपछि संस्थापक शेयरधन संख्या ४२२, सर्वसाधारण शेयरधनी संख्या करिब २८ हजार तथा २०७५ असार मसान्तको विवरण बमोजिमनिक्षेप रु २ अर्ब ४२ करोड र लगानीमा रहिरहेको कर्जा रु २ अर्ब २६ करोड भएको बैंक बन्नेछ । 

६ बर्ष अगाडि

प्रतिक्रिया