भारत पुगेका सुरेन्द्रलाई तेस्रो लिङ्गीहरूले महिला बनाएर महिलाकै जस्तो काम गराए

६ बर्ष अगाडि

रोजगारीको सिलसिलामा चार वर्षअघि भारत पुगेका कञ्चनपुरका कृष्णपुर नगरपालिका–१ दोमिल्लाका एक युवकको भविष्य डामाडोल भएको छ । भारतमा तेस्रो लिङ्गीहरूले पैसा कमाउनका लागि २३ वर्षीय सुरेन्द्र सिंह मालको भविष्य डामाडोल पारिदिएको हो । ०७२ सालमा १२ कक्षाको परीक्षा दिएर पढाइ खर्चको जोहो गर्न भारत गएका उनको पढाइसँगै भविष्य नै डामाडोल भएको हो । 

भारतमा हुँदा तेस्रोलिङ्गी गिरोहले लिङ्ग नै काटिदिएपछि जिवन नै बर्बाद भएको सुरेन्द्रले बताए । गिरोहले उनलाई महिला बनाएर कमाउने धन्दामा प्रयोग गरेका थिए । उनले भने, ुलिङ्ग काटिदिए, महिला बनाएर महिलाकै जस्तो काम गराए ।ु 

दिल्लीभन्दा करिब ५० किलोमिटर टाढाको मेरिट भन्ने शहरका नइम खानले मालको लिङ्ग काटेर प्रयोग गरेका थिए । महिला भएपछि उनी लाजले घर आउन सकेका थिएनन् । तर, उनलाई त्यहाँ समस्या भएपछि ०७६ वैशाखको विशु पर्वका लागि गत वर्ष चैत अन्तिम साता नेपाल आएका थिए । सुरूमा महिलाको भेषमा नेपाल आउँदा कसैले सुरेश भनेर पत्याएका थिएनन् । अन्तमा उनको निधारमा भएको घाउ र स्वरबाट परिवारले चिनेका थिए ।

रोचन कुरा के छ, भने लिङ्ग काटेर तेस्रोलिङ्गी बनाइदिने रिजमान खानका छोरा सुहिलले माललाई प्रेम गर्न थालेका छन् । सुहिलसँगै नेपाल आएका मालको विषयमा आफन्तले चासो राख्न थालेपछि उनीमाथि अन्याय भएको थाहा पाएको हो । अङ्गभङ्ग बेचबिखन गरेको भन्दै मालको परिवारले खानलाई कारबाहीको माग राखेपछिको केटालाई केटी बनाएको तथ्य खुलेको हो ।

मालका परिवारले प्रहरीमा निवेदन दिएसँगै खानलाई लिन आएका दुईसहित तीन जना भारतीय नागरिक इलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा छन् । प्रहरी निरीक्षक रमेश अवस्थीले मालका परिवारले लिङ्ग काटेको र लिङ्ग काट्ने उपर कारबाही र क्षतिपूर्तिको माग राखेको जानकारी दिए । उनले घटनाका विषयमा कानुनी प्रक्रियाअनुसार जाने भएकाले सरकारी वकिलसँग छलफल भइरहेको बताए । आजको नयाँपत्रिकामा खबर छ । 

माल परिवारले छोराको भविष्य बिग्रानेविरूद्ध मुद्दा दायर गर्ने तयारी गरेको छ । मुलुक अपराध संहिता २०७४ को दफा ५२ अनुसार अङ्गभङ्ग गरेमा वा पुरुषलाई पुरुषोत्व हिन गरेमा १० वर्ष कैद र एक लाख जरिवानाको व्यवस्था रहेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया