काठमाडौँ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा हुन लागेको (आइफा) अवार्डको लागी सरकारले अरबौँ खर्च गर्न लागेको भन्दै विरोध गरेका छन् ।
उनले आज एक विज्ञप्ति जारी गर्दे आइफा अवार्डको विरोध गर्न जनतालाई आग्रह समेत गरेका छन् । भारतीय निजी क्षेत्रको इन्टरनेशनल इण्डिया फिल्म एकेडमी (आइफा) अवार्ड आयोजनाका लागि नेपाल सरकारले औपचारिक रुपमा नै सहमति दिएको तथा उक्त कार्यक्रमको आयोजनाको लागि एक अर्ब रुपिया नेपाल सरकारको तर्फबाट खर्च हुने भन्ने समाचार सार्वजनिक भएपछी उनले यसको विरोध गरेका हुन् ।
उनले आज एक विज्ञप्ति जारी गर्दे भारतबाट सयौं संख्यामा कलाकार आउने र नेपाल सरकारले अरबौं खर्च गर्न लागेको भन्दै उक्त कार्यक्रमको विरोध गरेका छन् ।
यस्तो छ विज्ञप्ति:
भारतीय निजी क्षेत्रको इन्टरनेशनल इण्डिया फिल्म एकेडमी (आइफा) अवार्ड आयोजनाका लागि नेपाल सरकारले औपचारिक रुपमा नै सहमति दिएको तथा उक्त कार्यक्रमको आयोजनाको लागि एक अर्ब रुपिंया नेपाल सरकारको तर्फबाट खर्च हुने भन्ने समाचार सार्वजनिक भएका छन् ।
नेपालमा पर्यटन प्रवद्र्धनका नाममा हुन थालेको उक्त कार्यक्रममा भारतबाट सयौं संख्यामा कलाकार आउने र उनीहरुको खर्च समेत नेपाल सरकारले विभिन्न ढंगले व्यहोर्ने कुरा पनि सार्वजनिक भएको छ । नेपालमा आर्थिक अभावका कारण देशमा राष्ट्रिय फिल्म अवार्डहरु केही वर्षदेखि वितरण हुन नसकेको परिप्रेक्ष्यमा आइफा अवार्डको आयोजनामा अरबौं खर्च गर्न थालिएको छ ।
सरकारको यसप्रकारको कार्यशैलीको हाम्रो पार्टीले विरोध गर्दछ र अखिल(छैठौं) को आयोजनामा देशका बिभिन्न कलाकारहरुको समेत सहभागीता भई भएको विरोध कार्यक्रमप्रति हाम्रो पार्टीले ऐक्यवद्धता प्रकट गर्दछ । यसका साथै सम्पूर्ण जनतालाई सरकारको यसप्रकारको कार्यशैलीको विरोध गर्नका लागि पार्टीले हार्दिक अपिल गर्दछ ।
मिति : २०७६ असार १६
चित्रबहादुर के.सी. अध्यक्ष
प्रतिक्रिया