काठमाडौं – साताको अन्तिम कारोवार दिन बिहीबार नेप्सेमा गिरावट आएको छ । बजारको कारोबार मापन गर्ने नेप्से परिसूचक ११४ अंकले घटेर १२५७.१५ विन्दुमा रोकिएको छ ।
तर ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक भने शून्य दशमलव ३५ अंकले बढेको छ।
१ हजार २५९ दशमलव १७ विन्दुबाट शुरु भएको परिसूचक कारोबारको शुरुमा केही झिनो अंकले उकालो लागेको थियो । सो पश्चात घटबढ हुँदै कारोबार भएको पहिलोे घण्टाको अवधिपछि बढेर यस दिन कै उच्च विन्दु १ हजार २६० दशमलव ४३ विन्दुसम्म पुगेको थियो ।
आज कारोबारमा आएका ११ समूहको परिसूचकमा ४ समूहको परिसूचक बढेपनि बाँकी ७ ओटा समूहको परिसूचक घट्दा समग्र नेप्से परिसूचक शून्य दशमलव शून्य ९ प्रतिशत घटेको हो । ।
आज रू ६२ करोड ७९ लाख रकम बराबरको शेयर कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा १० दशमलव १४ प्रतिशतले वृद्धि भएको हो । यस हप्ताको कारोबार दिनहरुमध्ये बिहीवारको कारोबार रकम सबैभन्दा उच्च रहेको छ । सेन्सेटिभ इन्डेक्स भने यस दिन शून्य दशमलव ३५ अंक बढेर २७१ दशमलव १६ विन्दुमा बन्द भएको छ ।
आज सबैभन्दा बढी हिमालयन डिष्टिलरी लिमिटेडको १४ करोड ९७ लाखको सेयर किनबेच भएको छ। कम्पनीको प्रतिकित्ता १ हजार ७ सय २३ रुपैयाँमा सेयर किनबेच भएको हो । त्यस्तै नेपाल बैंकको ५ करोड ६५ लाखको, प्रभु बैंकको ३ करोड ११ लाखको, शिवम् सिमेन्टको २ करोड ९९ लाखको, सिद्धार्थ बैंकको २ करोड ५५ लाखको सेयर किनबेच भएको छ।
कमाउने पाँच कम्पनीमा भने आज मल्टिपर्पोस फाइनान्स ९.९८ प्रतिशत, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेड ७.९७ प्रतिशत, एसियन लाइफ इन्स्योरेन्स ३.४० प्रतिशत, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ३.३३ र बेस्ट फाइनान्स कम्पनी २.९४ प्रतिशत रहेको नेप्सेले जनाएको छ।
प्रतिक्रिया