राष्ट्रियसभा निर्वाचनमा कुन प्रदेशबाट कसले बाजी मारे ?

७ बर्ष अगाडि

काठमाडौं–  राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण नतिजा आएको छ |  प्रदेश नं १ को दुई सदस्यका लागि  भएको निर्वाचनमा दुवैमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।
    विराटनगरस्थित वीरेन्द्रसभा गृहमा अपराह्न सम्पन्न मतगणनामा दलित समूहबाट एमालेका खेमराज नेपालीले छ हजार २७० मत प्राप्त गरी विजयी भए ।  

       यस्तै अल्पसंख्यक समूहबाट एमालेकै अगमप्रसाद बान्तवा विजयी भए ।  बान्तवा छ हजार १३८ मत प्राप्त गरी विजयी भएका हुन् ।  नेपाली काँग्रेसका महेश जाजुले दुई हजार ८९८ मत मात्रै प्राप्त गरेको  प्रदेश नं १ का सहायक निर्वाचन अधिकृत नवराज दुलालले जानकारी दिए । 
    
    यसअघि, महिलाको तीन पद र खुलाको तीन पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । कूल आठ स्थानमा एमालेका पाँच, काँग्रेसका दुई र नेकपा (माओवादी केन्द्र) को एकजना निर्वाचित भएका छन् ।
    
    यसअघि निर्विरोध निर्वाचित हुनुहुनेमा खुला समूहबाट एमालेका पर्शुराम मेघी गुरुङ, हरिचरण शिवाकोटी र काँग्रेसबाट रमेशजंग रायमाझी छन् ।  त्यस्तै, महिला समूहबाट एमालेका नैनकला ओझा, माओवादी केन्द्रका विना पोखरेल र काँग्रेसका सरिता प्रसाईं छन् । 

     प्रदेश नं २ बाट राष्ट्रियसभामा निर्विरोध निर्वाचित भएका  सदस्यहरुलाई आज प्रमाणपत्र वितरण गरियो । चुनावअघि नै निर्विरोध भएकाले प्रदेश नम्बर २ मा आज चुनाव भएन । 

    प्रदेश नं २ बाट राष्ट्रियसभा सदस्यमा महिलातर्फ संघीय समाजवादी फोरम नेपालका प्रमिला कुमारी, नेपाली काँगे्रसका मुक्ताकुमारी यादव र नेकपा (माओवादी केन्द्र)का शशिकला दाहाल, अल्पसंख्यकमा राष्ट्रिय जनता पार्टी नेपालका वृषेशचन्द्र लाल र दलितमा संघीय समाजवादी फोरम नेपालका रामपृत पासवान निर्विरोध निर्वाचित भएका छन् । 

    त्यस्तै, खुलातर्फ काँग्रेसका जीतेन्द्रनारायण देव, राष्ट्रिय जनता पार्टी नेपालका रमेशप्रसाद यादव र नेकपा एमालेका सुमनराज प्याकुरेल निर्विरोध निर्वाचित भएका छन् । 
    
यसैगरी  प्रदेश नं ३ मा आठ जना निर्वाचित भएका छन् । निर्वाचित हुनेमा छ जना वाम गठबन्धनका र दुई जना नेपाली काँग्रेसका सदस्य रहेको प्रदेश नं ३ का निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले जानकारी दिए । 

    उनका अनुसार वाम गठबन्धनबाट एमालेका बलरामप्रसाद बाँस्कोटा, महिलामा दिलकुमारी रावल (पार्वती) र उदय शर्मा पौडेल, दलितमा सिंहबहादुर विश्वकर्मा र अल्पसंख्यकमा रामचन्द्र राई विजयी भएका छन् । 

    त्यसैगरी माओवादी केन्द्रबाट रामबहादुर थापा बादल  विजयी भएका छन् ।  काँग्रेसबाट भने राधेश्याम अधिकारी र धनकुमारी खतिवडा विजयी भए ।  प्रदेश नं ३ मा आठ पदका लागि १४ उम्मदेवार प्रतिस्पर्धामा थिए । 

        

प्रदेश नं ४ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सम्पन्न मतगणनाअनुसार ४ नम्बर  प्रदेशबाट कुल आठजना निर्वाचित हुनुपर्नेमा महिला तर्फबाट नेपाली काँग्रेसकी बिन्दादेवी आले (राना) तथा नेकपा (एमाले)का दीपा गुरुङ र शान्ति कुमारी अधिकारी जिसी निर्वाचित भएको  क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले जानकारी दिए । 

त्यस्तै दलित तर्फबाट नेकपा (माओवादी केन्द्र)का खिमकुमार विक निर्वाचित भएका छन् भने अन्य समूहका तीन जनामा काँग्रेसका सुरेन्द्रराज पाण्डे, एमालेका गणेशप्रसाद तिमिल्सिना र माओवादी केन्द्रका दीनानाथ शर्मा विजयी भएका छन् । 

अपाङ्गतर्फबाट काँग्रेसका प्रकाश पन्थ यसअघि नै निर्विरोध निर्वाचित भएका थिए ।  आजको मतदानमा कुल २३० जना मतदाता रहेकामा २२९ जनाले मतदान गरेका थिए ।


प्रदेश नं ५ को राष्ट्रियसभा सदस्य निर्वाचनको  मतपरिणाम पनि घोषणा गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत हेमन्तकुमार रावलका अनुसार दलिततर्फ नेकपा (एमाले)का उम्मेदवार रामलखन चमार विजयी भएका छन् । 

चमारको मतभार पाँच हजार ५०८ रहेको छ भने उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका  मैकुलाल वाल्मिकीको मतभार दुई हजार ३७० रहेको छ । त्यसैगरी, अपाङ्ग तथा अल्पसंख्यकतर्फ नेकपा (माओवादी केन्द्र)का राजकुमार कुँवर विजयी भएका छन् । उनको  मतभार पाँच हजार ३४० रहेको छ भने उनका  प्रतिद्वन्द्वी काँग्रसका लुटबहादुर खत्रीको मतभार दुई हजार ५२० रहेको छ ।

त्यसैगरी, खुल्ला तीन पदमा एमाले, काँग्रेस र माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । एमालेका खिमलाल भट्टराईको मतभार तीन हजार ६, काँग्रेसका दुर्गाप्रसाद उपाध्यायको मतभार दुई हजार ४१८ र माओवादी केन्द्रका चन्द्रबहादुर खड्काको मतभार दुई हजार २८० रहेको मुख्य निर्वाचन अधिकृत रावलले जानकारी दिए । 

    तीनै उम्मेदवारले ल्याउनुपर्ने भन्दा बढी मत पाएका कारण विजयी भएको घोषणा गरिएको छ । एकल संक्रमणीय निर्वाचन प्रणालीमा एक जना उम्मेदवारले एक हजार ९६१ मत ल्याउनुपर्ने थियो । तीन महिला भने यसअघि नै र्निविरोध निर्वाचित भइसकेका छन् ।

प्रदेश नं ५ मा ३०५ मतदाता रहेकामा ३०३ मत खसेको थियो । मतदानमा दुई जना अनुपस्थित रहे । रुपन्देहीबाट राष्ट्रिय जनता पार्टी नेपालबाट समानुपातिक सांसद बनेकी  बीना पन्त र बाँकेबाट सङ्घीय समाजवादी फोरमबाट नरैना गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह अनुपस्थित रहे । 

    प्रदेश नं ५ मा प्रदेशसभाका ५५ पुरुष र महिला ३१ गरी ८६  तथा स्थानीय तहबाट ११६ पुरुष र १०१ महिला गरी २१७ जनाले मतदान गरेका थिए । 

प्रदेश नम्बर ६ बाट  राष्ट्रियसभामा बाम गठबन्धनले क्लिन स्विप गरेको छ । बुधबार अबेर सम्पन्न मतपरिणाम अनुसार गठबन्धनका नरपती लुहार ,जीवन बुढा ,कविता वोगटी, यूटोल तामाङ , नन्दा शर्मा , कालीवहादुर मल्ल, भैरवसुन्दर श्रेष्ठ र  ठगेन्द्र पुरी विजयी  भएका छन्  । 

 
७ नं प्रदेशमा भएको निर्वाचनमा नेकपा (एमाले)का चक्रप्रशाद स्नेही र नेकपा (माओवादी केन्द्र)का महेशकुमार महरा निर्वाचित भएका छन्  । 

निर्वाचन अधिकृत जयानन्द पनेरुले दलित समूहका तर्फबाट विजयी एमालेका स्नेहीले स्थानीयतर्फ १२२ र प्रदेशसभातर्फ ३९ मत प्राप्त गरी विजयी भएको  जानकारी दिए । उनका  प्रतिद्वन्द्वी नेपाली काँग्रेसका शेरीराम पार्कीले स्थानीय तर्फ ७३ र प्रदेशतर्फ १२ मत आए । 

यस्तै अल्पसंख्यक तथा अपाङ्गतर्फ माओवादी केन्द्रका महरा विजयी भए । उनले  स्थानीयतर्फ १२२ र प्रदेशसभातर्फ ३९ मत पाए ।  उनका  प्रतिद्वन्द्वी काँग्रेसका छत्रराज जोशीले स्थानीयतर्फ ७४ र प्रदेश सभा तर्फका १२ मत पाए । 

निर्वाचनमा स्थानीयतर्फको एक मत बदर भएको निर्वाचन अधिकृत पनेरुले बताए । 


प्रत्येक प्रदेशबाट राष्ट्रियसभाका आठ सांसद हुनुपर्नेमा ७ नं प्रदेशवाट खुल्लातर्फ काँग्रेसका बद्रीप्रसाद पाण्डेय, एमालेका शेरबहादुर कुँवर र माओवादी केन्द्रका हरिराम चौधरी र महिला सदस्यमा एमालेकी इन्दु कडरिया तथा कमलाकुमार ओली, काँग्रेसकी तारादेवी भट्ट यसअघि निर्विरोध निर्वाचित भइसकेका छन् ।
 

७ बर्ष अगाडि

प्रतिक्रिया